शुक्रबार, १३ चैत २०८२
नेपाली

सत्ता लिप्त बदनाम नेताकाे 'जेन-जी' अपरेसन !

Main News Image

काठमाडौँ । नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँदा देशले लोकतान्त्रिक गणतन्त्र, संघीयता र समावेशी राजनीतिको अभ्यास गरेको भए पनि, आजको दिनमा उनीहरूमाथि तीव्र आलोचना हुन थालेको छ। नयाँ पुस्ता, विशेष गरी “जेन जेड” वा अहिलेको जागरुक युवा पुस्ताले ती नेताहरूको राजीनामा माग गर्दै आन्दोलन गरिरहेका छन्। उनीहरूका अनुसार, यी नेताहरूले नेपालमा सुदृढ लोकतन्त्र विकास गर्न असफल भएका छन्, जनताको चाहनाअनुसार शासन सञ्चालन गर्न सकेका छैनन्, र भ्रष्टाचार, स्वार्थ र सत्ताको लोभमा पुराना संरचनालाई जोगाइरहेका छन्।

जेनजी आन्दोलन  एक स्वतःस्फूर्त र डिजिटल युगको आन्दोलन हो जसमा युवाहरूले सामाजिक सञ्जाल, सडक प्रदर्शन र साङ्गठनिक दबाबमार्फत परिवर्तनको आवाज उठाएका छन्। यो आन्दोलनको मुख्य मुद्दा भनेको पुराना नेताहरूको नेतृत्व असफल भएको र नयाँ पुस्तालाई अवरोध गरिएको भन्ने छ। यस आन्दोलनमा उठाइएका प्रमुख मागहरूमा नयाँ पुस्तालाई राजनीतिक नेतृत्वमा अवसर दिनु, पुराना नेताहरूले स्वेच्छिक राजीनामा गर्नु, भ्रष्टाचार विरुद्ध कठोर कारबाही गर्नु, मानव अधिकार उल्लङ्घनको छानबिन गर्नु र नीति निर्माणमा युवा सहभागिता सुनिश्चित गर्नु रहेका छन्।

तर यो आन्दोलन सहज बनेको छैन। केही स्थानहरूमा प्रदर्शनकारीहरूमाथि दमन गरिएको, सुरक्षाकर्मीले अत्याधिक बल प्रयोग गरेको र युवाहरूको मौलिक अधिकार हनन् भएको आरोपहरू छन्। कतिपय घटनामा गोली चलाइएको, धरपकड गरिएको र मानसिक दवाबका कारण आत्महत्या समेत भएको बताइन्छ। यही आधारमा नेताहरूमाथि ूनरसंहारू जस्ता गम्भीर आरोपहरू समेत लगाइएको छ।

पुराना नेताहरूको नेतृत्वमाथि पनि व्यापक आलोचना हुँदै आएको छ। पाँच कार्यकाल लामो नेतृत्व गरेर शेरबहादुर देउवाले पार्टीमा आन्तरिक लोकतन्त्रलाई संस्थागत गर्न सकेनन्। युवाहरूलाई अवसर दिन नसकेको, कमजोर प्रशासनिक नेतृत्व गरेका र भ्रष्टाचारमा लिप्त रहेको आरोप उनीमाथि छ। हुन पनि कांग्रेसको समानुपातिक पिछडिएको महिला प्रतिनिधित्वमा देउवाले आफ्नै श्रीमती आरजु राणा देउवालाई सांसद बनाएका थिए । उनले श्रीमतीलाई सांसद मात्र होइन्, परराष्ट्र मन्त्री नै बनाए । केपी शर्मा ओलीले राष्ट्रवादी छवि बनाए तर उनैले सुनाएका योजना कार्यान्वयनमा ल्याएनन् । सत्ता केन्द्रीत सोच र अभिव्यक्तिमाथि अंकुश जस्ता कारणले उनीप्रति असन्तुष्टि बढेको हो। माधवकुमार नेपालले नयाँ पार्टी खोले पनि व्यवहारमा पुरानै राजनीतिक शैलीमा देखा परे । उनको नेतृत्वले युवालाई खासै आकर्षित गर्न सकेन। पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कहिल्यै स्पष्ट दिशा दिन सकेनन्। युद्धकालीन विरासत र पछिल्ला सत्ता समिकरणका कारण उनी नेतृत्वको बदनाम प्रतीक बनेका छन्।

युवाहरूको असन्तुष्टि धेरै धेरैवटा कारणबाट बढेका छ। नेपाली राजनीतिमा स्थायित्वको अभाव, नीति निरन्तरताको कमजोरी, र बारम्बार सरकार परिवर्तनले उनीहरूमा आक्रोश पैदा गरेको छ। भ्रष्टाचार, ढिलासुस्ती र अनियमितता चरम सीमामा पुगेको छ। बेरोजगारी, कमजोर शिक्षा प्रणाली र अवसरको अभावका कारण युवाहरू विदेश पलायनमा लाग्न बाध्य छन्। यी सबै समस्याको मूल उत्पादक पुराना नेताहरू भएको नयाँ पुस्ताका युवाहरूको निष्कर्ष छ। पार्टीहरूको संरचना अझै पनि पुरानै ढाँचामा चलेको छ, जहाँ ७० वर्ष नाघेका नेताहरू अझै पनि पार्टीका शीर्ष नेतृत्वमा छन्। यस्तो अवस्थामा युवा पुस्ताले आन्दोलनमार्फत नेतृत्व परिवर्तनको माग गरिरहेका छन्।

तर, पुराना नेताहरू भने आफूलाई “लोकतन्त्रका निर्माता” भनेर स्थापित गर्न खोजिरहेका छन्। उनीहरूले आन्दोलनलाई “भावनात्मक प्रतिक्रिया”, “विदेशी प्रेरित” वा “अराजक गतिविधि”का रूपमा चित्रण गर्ने प्रयास गरेका छन्। यद्यपि, कतिपय नेताहरूले नेतृत्व हस्तान्तरणको कुरा बोले पनि व्यवहारमा नयाँ अनुहारहरूलाई अगाडि ल्याउने ठोस प्रयास गरेका छैनन् । उदाहरणका लागि, देउवा र ओलीबीच भएका वार्ताहरूमा नेतृत्व सुम्पने विषयभन्दा सरकारमा कसरी सहभागी हुने भन्नेमा मात्र छलफल भएको देखिन्छ।

समस्या समाधानका लागि केही ठोस उपायहरू अवलम्बन गर्न आवश्यक छ। सबैभन्दा पहिला, पुराना नेताहरूले स्वेच्छिक रूपमा नेतृत्व हस्तान्तरण गर्नुपर्छ। पार्टीहरूमा उमेर सीमा तोकिनु, आन्तरिक लोकतन्त्र विकास गर्नु र युवाहरूलाई जिम्मेवारी दिनु आवश्यक छ। नीति निर्माणमा युवाको सहभागिता बढाउनुपर्छ, विशेष गरी स्थानीय तहदेखि केन्द्रसम्म। संविधान र मानव अधिकारको सम्मान हुनुपर्छ, आन्दोलनमाथिको दमन रोक्नुपर्छ र दोषीमाथि कारबाही हुनुपर्छ। साथै, शिक्षा, रोजगारी र उद्यमशीलता प्रवर्द्धनका लागि दीर्घकालीन रणनीति आवश्यक छ। पार्टी संरचनामा सुधार, निर्णय प्रक्रियामा पारदर्शिता, आन्तरिक प्रतिस्पर्धाको प्रवर्धन पनि अत्यावश्यक छ।

यद्यपि, यो मार्ग सहज छैन। पुराना नेताहरूको सत्तामा मोह, युवाहरूमा अनुभवको कमी, नेतृत्व परिवर्तनसँगै आउने सम्भावित अस्थिरता र दलभित्रको प्रतिरोधले यो प्रक्रिया चुनौतीपूर्ण बनाउँछ। तर परिवर्तनको माग अब नटेरी नहुने स्तरमा पुगेको छ।

नेपालको राजनीति अहिले यस्तो मोडमा पुगेको छ जहाँ युवाहरूले नेतृत्वको सवालमा कडा प्रश्न उठाएका छन्। पुराना नेताहरूले देशमा लोकतन्त्र ल्याएको भए पनि तिनको योगदानको सीमारेखा अब पूर्ण हुन थालेको संकेत जनताले दिएका छन्। राजनीतिको स्वाभाविक विकासक्रम अनुसार, नेतृत्वमा पुस्तान्तरण अपरिहार्य हुन्छ। तर त्यो स्वाभाविक रूपले नभएमा जनदबाब, आन्दोलन र समयकै चक्रले बाटो बनाउँछ । यदि अहिलेका नेता वास्तवमै राष्ट्रप्रेमी छन् भने, उनीहरूले स्वयंम् पद हस्तान्तरणको पहल लिनुपर्छ, नयाँ पुस्तालाई प्रशिक्षण, अवसर र संरचना सुम्पन सक्नुपर्छ । यसो हुन सकेमा मात्र नेपालमा स्थायित्व, समावेशिता, उत्तरदायित्व र नवप्रवर्तनयुक्त राजनीतिको विकास सम्भव छ।

युवाहरूले उठाएका आवाजहरूलाई दबाउने होइन, सुन्ने र सम्बोधन गर्ने हो। किनभने आजको युवा नै भोलिको नेता हो — र उनीहरूलाई अधिकार, अवसर र जिम्मेवारी दिनु अब टार्नै नसकिने आवश्यकता बनिसकेको छ।

mediabaaji add

सम्बन्धित खबर

राजनीतिमा पुस्तान्तरण अपरिहार्य

नेपालको राजनीतिमा पुस्तान्तरण सबैभन्दा ठुलो चुनौती बन्दै आएको छ । राजनीतिबिना देश चल्न सक्दैन । राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्न सकिएन भने यसको अर्थ रहँदैन । राजनीति गर्ने दलहरूले हो । दलहरूलाई गतिशील, लोकतान्...

सहकार्यको अवसर

अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापीका–संसदमा दर्ता महाभियोग प्रस्तावमाथी ९ कात्तिकबाट शुरु भएको छलफलले २५ गतेबाट निरन्तरता पाउनेछ । यसबीचमा परेको तिहार र छठ...

७९ हजारभन्दा बढी जनशक्ति सम्हाल्ने नेपाल प्रहरीको कमान्ड कसको हातमा पर्ला ? कार्की, केसी, अधिकारी कि शाहको ?

यही कात्तिकमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ अवकाशमा जाने तयारीमा रहेका छन्। अब उनको स्थानका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)बीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद...

क्रिकेटले ल्याएको खुसी

काठमाण्डौँ । नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्...