राजनीतिमा पुस्तान्तरण अपरिहार्य
नेपालको राजनीतिमा पुस्तान्तरण सबैभन्दा ठुलो चुनौती बन्दै आएको छ । राजनीतिबिना देश चल्न सक्दैन । राजनीतिलाई देश र जनताको हितमा प्रयोग गर्न सकिएन भने यसको अर्थ रहँदैन । राजनीति गर्ने दलहरूले हो । दलहरूलाई गतिशील, लोकतान्त्रिक र चारित्रिक हिसाबले नैतिकवान् बनाउने काम नेतृत्वकर्ताले गर्नु पर्छ ।
राजनीतिक नेतृत्व व्यक्तिगत र दलगत स्वार्थभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्न सके मात्र मुलुक अगाडि बढ्न सक्छ । सङ्घीय लोकतान्त्रिक गणतन्त्रको अभ्यासको यो चरणमा आइपुग्दा पनि अपेक्षित रूपमा मुलुकले किन गति लिन सकेन ? आमजनताको जीवनस्तरमा किन सुधार आउन सकेन ? किन मुलुक गरिबीबाट मुक्त हुन सकेन रु सर्वत्र असन्तुष्टि र आक्रोश किन बढ्यो ? भ्रष्टाचार नियन्त्रण र सुशासन किन कायम हुन सकेन ? यावत् प्रश्न राजनीतिक नेतृत्वमाथि उठेको छ । राजनीतिका नाममा नेताहरूलाई जे गर्न पनि छुट हुने तर जनता भने अन्यायमा परिरहने अवस्थाले ठुलो असन्तुष्टि ल्याएको हो । राजनीतिको नाममा नेतृत्व वर्गलाई गल्ती गर्ने छुट दिँदा मुलुकका लागि भ्रष्टाचार र अपराध सबैभन्दा ठुलो चुनौती बनेको छ । लोकतन्त्र भनेको अराजकता होइन विधिको शासन हो ।
लोकतन्त्र पार्टीको आन्तरिक जीवनमा मात्र होइन सर्वत्र हुनु पर्छ । लोकतन्त्रलाई आमजनताको हितमा प्रयोग गरिनु पर्छ । यसलाई ठगी खाने भाँडो बनाउनु हुँदैन । जनताले लोकतन्त्रको अनुभूति गर्न पाएनन् भने अविश्वास र आक्रोश पैदा हुन्छ । नेतृत्व र पार्टीप्रति जनविश्वास घट्दै जान्छ । पार्टी र नेतृत्वप्रति जनविश्वास घट्नु भनेको लोकतन्त्रका लागि सबैभन्दा ठुलो चुनौती हो ।
नेपाली राजनीतिको पछिल्लो कालखण्डमा कतिपय राजनीतिक नेतृत्व व्यक्तिगत स्वार्थमा केन्द्रित रहे । नेतृत्व वर्गले पार्टी र कार्यकर्ता साथै आमजनताको भावना बुझ्न सकेन । नेताहरूले पार्टीलाई पेवा जस्तै बनाए । आफ्नो स्वार्थमा प्रयोग गरे । पार्टीलाई पुस्तान्तरण गर्ने, गतिशील बनाउने दिशामा ठोस काम हुन सकेन । नेताहरू र उनका आसेपासे धनी बन्दै गए, देश खोक्रिँदै गयो । जनता गरिब बन्दै गए । सुशासन भएन । भ्रष्टाचारले सीमा नाघ्यो । यही असन्तुष्टि र आक्रोश जेनजी पुस्ताका नाममा पोखियो । जेनजी पुस्ताको विद्रोहले मुलुक नयाँ चरणमा प्रवेश गरेको छ । नयाँ अन्तरिम सरकार बनेको पनि एक महिनाभन्दा बढी भयो । यो सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन कायम र आगामी फागुन २१ गते सङ्घीय संसद्को निर्वाचन गराएर नयाँ सरकारलाई सत्ता हस्तान्तरण गर्ने म्यान्डेट पाएको छ । विघटित प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरू अब सच्चिएर चुनावमा भाग लिनु पर्छ ।
लोकतन्त्रको आधार नै निर्वाचन हो । निर्वाचनबाटै मुलुकलाई निकास दिनु पर्छ । निर्वाचनमा जाँदा अब बुढोपुस्ता होइन युवापुस्ताले नेतृत्व गर्नु पर्छ भन्ने मुलुकको आवाजलाई सबैले आत्मसात् गर्नु पर्छ । विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो पार्टी नेपाली कांग्रेसमा पुस्तान्तरण सुरु भएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी हस्तान्तरण गर्नुभएको छ । कांग्रेसका लागि र मुलुकका लागि यो शुभ सङ्केत हो । उहाँले जेनजी पुस्ताको जायज मागलाई सम्बोधन गर्नुपर्ने र चुनावमार्फत मुलुकलाई निकास दिनुपर्नेमा जोड दिनुभएको छ ।
कांग्रेस नेतृत्वमा आएको यो परिवर्तनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र लगायतका दलमा नेतृत्व हस्तान्तरण गर्न दबाब परेको छ । एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ अझै पनि नेतृत्व हस्तान्तरण गर्न इच्छुक हुनुहुन्न । पार्टीमा अझै पनि आफ्नो विकल्प नभएको जस्तो गरी उहाँहरू प्रस्तुत हुनुभएको छ । यसले एमाले र माओवादी दुवैलाई फाइदा गर्दैन । ओली र प्रचण्डले पनि अब नेतृत्व हस्तान्तरण गरी अभिभावकीय भूमिका निर्वाह गर्न ढिलो गर्नु हुँदैन ।
सत्ता र पार्टीको नेतृत्व ओगटेर बस्ने प्रवृत्तिले मुलुकलाई यो सङ्कटको घडीमा ल्याएको कुरामा विमति छैन । पुरानो पुस्ताले नयाँ पुस्तालाई सहज रूपमा समयमै नेतृत्व हस्तान्तरण नगर्दा थुप्रै समस्या र विकृति आएको कुरालाई सबैले मनन गर्नु पर्छ । राजनीतिक दलहरूलाई लोकतान्त्रिक र गतिशील बनाउन सके मात्र मुलुकले सही निकास पाउँछ । दलहरूभित्र निरङ्कुश चरित्र हाबी भयो भने यसले अन्ततः पार्टीलाई कमजोर बनाउँछ र मुलुकलाई पनि अहित गर्छ । यो कुरालाई सबैले समयमै मनन गर्नु पर्छ । जेनजीको सपना मुलुकमा शान्ति, सुशासन र भ्रष्टाचारमुक्त समाज निर्माण नै हो ।
एक्सप्रेस
सम्बन्धित खबर
क्रिकेटले ल्याएको खुसी
काठमाण्डौँ । नेपाली क्रिकेटले पुनः एक पटक सम्पूर्ण नेपालीको मुहारमा खुसी ल्याएको छ । ओमानमा भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा दुई खेलअघि नै नेपाल सन् २०२६ मा हुने विश्वकपमा चयन भएको छ । नेपालका लागि यो सफलता अत्...
सहकार्यको अवसर
अख्तियार दुरुपयोग अनुसन्धान आयोग अदुअआका प्रमुख आयुक्त लोकमानसिंह कार्कीविरुद्ध व्यवस्थापीका–संसदमा दर्ता महाभियोग प्रस्तावमाथी ९ कात्तिकबाट शुरु भएको छलफलले २५ गतेबाट निरन्तरता पाउनेछ । यसबीचमा परेको तिहार र छठ...
सत्ता लिप्त बदनाम नेताकाे 'जेन-जी' अपरेसन !
काठमाडौँ । नेपालको राजनीतिमा दशकौंदेखि जरा गाडेका नेताहरू—शेरबहादुर देउवा, केपी शर्मा ओली, माधवकुमार नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’—अझै पनि राजनीतिको केन्द्रमा छन्। यिनै नेताहरू नेतृत्वमा रहँद...
७९ हजारभन्दा बढी जनशक्ति सम्हाल्ने नेपाल प्रहरीको कमान्ड कसको हातमा पर्ला ? कार्की, केसी, अधिकारी कि शाहको ?
यही कात्तिकमा नेपाल प्रहरीका वर्तमान महानिरीक्षक (आईजीपी) चन्द्रकुबेर खापुङ अवकाशमा जाने तयारीमा रहेका छन्। अब उनको स्थानका लागि चार जना अतिरिक्त महानिरीक्षक (एआईजी)बीच तीव्र प्रतिस्पर्धा सुरु भएको छ दानबहादुर कार्की, मनोज केसी, राजन अधिकारी र सिद...



