स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !
रुषा थापा________
भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क्यान्सर, मिर्गौला, कलेज, मुटु, ब्रेन ट्युमर, मानसिक, मस्ष्तिकघात, श्वासप्रश्वासलगायतका रोगी पनि बढ्दो क्रममा छन् ।
यी दीर्घकालीन रोगको उपचार एकदमै महँगो छ । त्यसैले, पैसा नहुनेहरु उपचार गर्न नसकेर घरमै बस्छन् त पैसा भएकाहरु अस्पतालमा उपचार गराइरहेको भेटिन्छन् । उपचारबाट वञ्चित गरिब बिरामीलाई लक्षित गर्दै सरकारले स्वास्थ्य बीमा कार्यक्रम शुरु गर्यो । ०७४ सालबाट शुरु गरिएको यो कार्यक्रममा हालसम्म करोडौं सर्वसाधारण आबद्ध भइसकेका छन् ।
कार्यक्रमअन्तर्गत पाँच जना परिवारको साढे तीन हजार रुपैयाँ तिरेर बीमा गराएपछि वर्षमा एक जनालाई एक लाख अर्थात् पाँच जनालाई पाँच लाख रुपैयाँ बराबरको निःशुल्क औषधि उपचार दिइने भनियो । र, थालियो पनि । निजी र सरकारी दुवै अस्पतालमा बीमा कार्यक्रम लागू गरियो । तर, बीमा गरिबका निम्ति नभई धनीमानीका लागि उपयुक्त बन्यो ।
अझ भन्नुपर्दा छोराछोरी अमेरिका, अस्ट्रेलिया भएका, सरकारी जागिरे, ठूल्ठूला घर भएका, मासिक लाखौं आम्दानी गर्नेहरुले स्वास्थ्य बीमाको उपभोग गरे । गरिब जनताका लागि साढे तीन हजार रुपैयाँ पनि निकै ठूलो रकम हो । हातमा एक सय रुपैयाँ त नहुनेहरुका लागि यो रकम लाखौं बराबर हो ।
उनीहरुले स्वास्थ्य बीमा गर्नु त परको कुरा हो, बीमा के हो ? के सुविधा पाइन्छ ? भन्ने समेत थाहा छैन । सरकारले स्वास्थ्य बीमा त शुरु गर्यो तर मापदण्ड तोकेन । कस्ता व्यक्ति बीमामा आबद्ध हुन पाउने ? सरकारले मापदण्ड बनाएन । यसले एकातिर गरिब जनता औषधि उपचारबाट वञ्चित भए, अर्कोतिर धनीमानीको निःशुल्क उपचार गराउँदा राज्यको ढुकुटी रित्तिएको छ ।
बीमा कार्यक्रम लागू भएको एक दशकमै संकटमा परेको छ । धनीमानीहरुको सित्तैमा उपचार गराउँदागराउँदै राज्य कंगाल बन्न पुगेको छ । बीमाअन्तर्गत निजी तथा सरकारी अस्पतालहरुले गरेको औषधि उपचारको ४३ अर्ब भुक्तानी सरकारले दिन सकेको छैन । यसले बीमा कार्यक्रम बन्द अवस्थामा पुगेको छ ।
अहिले आकस्मिकबाहेक बीमा सेवा रोकिएको छ भने पहिले एक जनालाई एक लाख रुपैयाँ बराबरको औषधि उपचार दिइनेमा अहिले २५ हजारमा झारिएको छ । तर, पानी परेर झिजेपछि छाता ओढेर के काम ? धनीमानीहरुको उपचार भएपछि बीमा रोकेपनि, नरोकेपनि के काम ! स्वास्थ्य बीमा पनि ज्येष्ठ नागरिक भत्ताजस्तै भयो ।
गरिबले नपाउने, धनीले जतिपनि बुझ्ने । यस्तै स्वास्थ्य बीमामा पनि हुँदा राज्यको ढुकुटीको दोहनमात्र भएको छैन, गरिब जनता उपचार नपाएर मर्नुपरेको छ । कतिपय गरिब जनताले ऋण लिईलिई बीमा गराएका थिए । अहिले बीमा नै बन्द भएपछि उनीहरु मर्कामा परेका छन् । उनीहरुको साढे तीन हजार रुपैयाँ खेर गएको छ । अब यो ऋण कसरी तिर्ने ? उनीहरु चिन्तामा छन् ।
साढे तीन हजार रुपैयाँ हुनेखानका निम्ति निकै सानो रकम हो । तर, बिहानबेलुका खाना नपाउनेका लागि यो एकदम ठूलो रकम हो । त्यस्ता गरिब जनताहरुले बिरामी हुँदा सिटामोलसमेत किन्ने पैसा नहुँदा ज्यान गुमाएका छन् । अहिलेपनि गाउँघरमा जाने हो कि उपचार गर्नसक्ने हैसियत नहुँदा बिरामीलाई कोठामा थुनेर, साङ्गोले बाँधेर राखिएको भेटिन्छ । शहरमा पनि यस्तै अवस्था छ ।
उपचार खर्च तिर्न नसक्दा बिरामीलाई अस्पतालमै बन्धक बनाएर राखिएको हुन्छ भने पैसा नभएकै कारण मानिसहरु मर्नै लागेपनि उपचार गर्न अस्पताल जाँदैनन् । उपचार गर्दागर्दै आफ्नो घरखेत, जाथजेथा गुमाउने पनि थुप्रा छन् । एकाधबाहेक कोही पनि जन्मिँदै रोगी हुँदैनन् । रोग कि त वंशणाुगत हुन्छ, कि अस्वस्थ खानपान र जीवनबाट ।
मानिसलाई रोगी बनाउनुमा सबैभन्दा ठूलो हात उद्योगी, व्यवसायीको छ । उनीहरुले आफ्नो फाइदाका निम्ति खाद्य सामग्रीमा विभिन्न केमिकल मिसाउँदा वा गुणस्तरहीन, सडे–गलेको सामग्री बेच्दा जनता रोगी बनिरहेका छन् । कोकदेखि रेड बुल, मदिरासम्ममा विविध केमिकल हालिएको हुन्छ, यो केमिकलले मानिसको मिर्गौला, फोक्सो, किड्नी सखाप पार्छ ।
आजकल जोकोही पनि पानीपुरी, चट्पटे खान्छन् । तर, पानीपुरीको झोल कस्तो पानीले बनाइएको हुन्छ ? चट्पटे रातो देखाउन के हालिन्छ ? थाहा नपाएर वा पाएरपनि खाने गरिन्छ । सागसब्जी, माछा–मासु, दही दुधमा त अखाद्य वस्तु हालिन्छ भने अरुमा हाल्नु स्वभाविक भइसक्यो । चाडपर्वका बेला मिठाई अधिक खाइन्छ । मिठाईमा चिनी, तेल र केमिकलको एकदमै बढी प्रयोग गरिएको हुन्छ ।
जसले मोटोपन बढाउनुका साथै अन्य रोगसमेत निम्त्याउँछ । तैपनि मानिसहरु यस्ता खानेकुरा खान छोड्दैनन् । जिब्रोको स्वादले कतिबेला ज्यानै जान्छ ः पत्तो हुन्न । अर्कोतिर पैसा पनि सिद्धिन्छ, घरपरिवारमा तनाव पनि बढ्छ । उद्योगी–व्यापारीलाई कमाउनुछ, धनी बन्ने रफ्तारमा उनीहरुले सर्वसाधारणको ज्यानै लिँदासमेत सरकारलाई कुनै मतलब छैन ।
सरकारी निकायहरु अनुगमन गर्छन् न कारबाही । तर, कस्ता खानेकुरा खाने ? त्यो त हामी नागरिकको हातमा छ नि । विडम्बना, आजकल त अभिभावकलाई घरमा पकाउन अल्छी लागेर बाहिरबाट रेडिमेट वा मिसावट खानेकुरा ल्याएर छोराछोरीलाई खुवाउँछन् । एकचोटि खाएपछि पटकपटक खान मन लाग्छ, अनि त्यो खाँदाखाँदै शरीर कहिले रोगी बन्यो ? थाहै हुँदैन ।
त्यसैले, ‘आफ्नो स्वस्थको आफैं ख्याल राख्नुपर्छ’ भन्ने धारणाको विकास मानिसमा हुन अत्यन्त आवश्यक छ । सरकारले पनि जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने उद्योगी, व्यवसायीमाथि कारबाही गर्नुपर्छ । जनता ठग्ने, राज्यलाई कर छल्ने । अर्कोतिर, रोगको भारी बोकाइदिने । फेरि निःशुल्क उपचार गराउँदा राज्यकै ढुकुटी रित्तिने ।
त्यसैले, सरकारले निःशुल्क उपचार गराउनुभन्दा पनि जनतालाई रोगी नै हुन दिनुहुन्न । त्यसका निम्ति सर्वसाधारणको स्वास्थ्यमाथि खेलबाड गर्नेलाई कडा कारबाही गर्नुपर्छ । साथै, बीमाको नाममा धनीको निःशुल्क उपचार गराउनुहुन्न । पैसा हुनेहरु त उपचार गराइहाल्छन् नि पैसा नहुने गरिब जनतालाई पो निःशुल्क औषधि उपचार चाहिन्छ । यसैले, सरकारले अब स्वास्थ्य बीमाको पनि मापदण्ड बनाउनुपर्छ । कस्ता व्यक्तिले स्वास्थ्य बीमा पाउने ? तोक्नुपर्छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शिक्षा, खेलकुद र उद्यमशीलता : जिम्मेवार युवाबाट समृद्ध समाजको आधार
मिडियाबाजी डटकम काठमाडौँ, असोज ३०। नेपालका युवा आज इतिहासको निर्णायक मोडमा छन्। देशमा अवसरको कमी, वैदेशिक रोजगारीको आकर्षण र राजनीतिक अस्थिरताबीच पनि केही युवाहरू जिम्मेवार सोच, परिश्रम र नेतृत्वका माध्यमबाट नयाँ आशा बोके...
जिबीलाई समातेर ल्याउन केले रोक्यो सरकार ?
काठमाण्डौँ । सहकारी नेटवर्किङ खडा गरेर लाखौं बचतकर्ताको अर्बौं रुपैयाँ खाएर फरार जिबी राई अहिलेसम्म फेला परेका छैनन् । पटकपटक सरकार फेरिएपनि अहिलेसम्म जिबीलाई खोजेर ल्याउन सकेको छैन । झन् बालेन्द्र साह नेतृत्वको सरकार बनेपछि जिबीको विषय सामसुम भएक...
खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ
मदन सिंह भाट
युवा नेता र खेलकुद विश्लेषक
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...
लुम्बिनीका पुरातात्त्विक सम्पदाको संरक्षणमा सबै एकजुट हुनुपर्छ : उपाध्यक्ष लामा
मिडियाबाजी डटकम काठमाडौँ आश्विन ३० ,काठमाडौँ ।लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे छिरिङ) ले लुम्बिनीसहितका सम्पूर्ण पुरातात्त्विक क्षेत्रहरूको संरक्...
हात्ती आयो हात्ती आयो फुस्सा भयो सङ्घीयता
© हरि खतिवडा
काठमाडौँ । नेपालीमा एउटा उखान छ नि “भूँइको टिप्न खोज्दा पोल्टाको खस्यो “हो त्यस्तै बाटोमा लम्किरहेका छौँ हामी ।अरु देशले आफ्नो सँस्कृतिलाई मोडिफाई गर्दै विश्वलाइ आफ्नोपन चखाउँछन् ,हाम...
राष्ट्रिय खेलाडीहरूको संघर्ष र अस्वीकारिएको योगदान
प्रस्तावना
राष्ट्रको इज्जत, पहिचान र गौरव शब्दहरू केवल इतिहासका पानामा सीमित छैनन् । ती आज पनि खेल मैदानमा पुनः–पुनः जन्मिन्छन् । जब कुनै खेलाडीले राष्ट्रको झण्डा काँधमा बोकेर मैदानमा पसिना...


