राष्ट्रसेवक नै राष्ट्रलाई हानि पुर्याउँदै, सरकार रमिते !
रुषा थापा_____
भक्तपुर । दुई दशकअघि भक्तपुरको सल्लाघारी तीनकुने चौरअगाडि यातायात व्यवस्था सेवा कार्यालयको स्थापना भयो । बागमती प्रदेशको यातायात मन्त्रालयअन्तर्गत सञ्चालित उक्त कार्यालय घर भाडामा लिएर खुलेको थियो । कार्यालयले मासिक डेढ लाख रुपैयाँ भाडा लिँदै आएको छ । जबकी यो एरियामा मासिक दश–पन्ध्र हजारमा सहजै राम्रा फ्ल्याट पाइन्छन् ।
अर्कोतर्फ, कार्यालय बसेको घरमा खुल्ला ठाउँ छैन । जसका कारण सेवाग्राहीलाई सवारी पार्किङमा निकै सास्ती हुँदै आएको छ । घर पनि भित्री गल्लीमा छ । यसले सेवाग्राहीलाई कार्यालय खोज्नै गाह्रो पर्छ । अब प्रश्न चाँहि के उठ्छ भने कुनै सेवासुविधा नभएको घरमा दुई दशकदेखि कार्यालय किन बसिरहेको छ ?
०६४ सालमा कार्यालय स्थापना भएयता सोही घरमै कार्यालय सञ्चालन भइरहेको छ । जबकी यही एरियामा पनि थुप्रा सुविधाजनक घर सस्तो भाडामा उपलब्ध छन् । तर, कार्यालय किन एउटै घरमा अड्डा जमाएर बसिरहेको छ ? यसतर्फ अब संघीय सरकारको ध्यान जान जरुरी छ । घरधनी र कार्यालय प्रमुखले आफ्नो स्वार्थका निम्ति राज्यलाई हानि पुर्याउने र जनतालाई दुःख दिने काम गरिरहेका छन् ।
कार्यालयभित्र सवारी पार्किङ गर्ने ठाउँ नहुँदा सेवाग्राहीहरुले आफ्नो सवारीसाधन तीनकुने चौरअगाडि वा भित्र पार्किङ्ग गर्नुपर्ने बाध्यता छ । पार्किङ्ग शुल्क एकदमै चर्को छ । एक घण्टा पार्किङकै दुई पाङ्ग्रे सवारीको दश रुपैयाँ, चार पाङ्ग्रेको २५ रुपैयाँ र बस, ट्रकलगायत ठुला गाडीको तीन सय रुपैयाँ शुल्क छ ।
यो शुल्क क्तपुर नगरपालिकाले उठाउँछ । फेरि जग्गा चाँहि नेपाल ट्रष्टको हो । कार्यालय सञ्चालन भइरहेको घरका धनी निकै पहुँचवाला मानिन्छन् । उनले विगतदेखि नै पहुँचको भरमा आफ्नो घरमा सरकारी कार्यालय बसाउँदै आएका छन् । अहिले कार्यालय सार्न खोजिँदा उनले रोक्न जोडबल गरिरहेका छन् । ०८१ वैशाखमा बागमती प्रदेशको यातायात मन्त्रालयले सल्लाघारीको यातायात कार्यालय कोटेश्वर सार्ने निर्णय गरेको थियो ।
पाँच मिनेटको दुरीमा अर्थात् राधेराधेमा पनि यातायात कार्यालय रहेकोले मन्त्रालयले कार्यालय सार्न खोजेको हो । राधेराधेको यातायात कार्यालय पनि भाडाकै घरमा छ । पाँच मिनेटको दुरीमा रहेपनि एउटा यातायात कार्यालय भक्तपुर नगरपालिका र अर्को मध्यपुर थिमी नगरपालिकामा पर्छ । राधेराधेको यातायात कार्यालयमा पनि पार्किङलगायत कुनै सुविधा छैन । जबकी भाडा चाँहि मासिक दुई लाख रुपैयाँ तिरिन्छ ।
एउटै मन्त्रालयका एउटै प्रकृतिका कार्यालय केही मिनेटको दुरीमा भएपछि मन्त्रालयले सल्लाघारीको यातायात कार्यालय सार्ने निर्णय गर्दै ०८१ सालमै कार्यालयलाई चिठ्ठी पठाएको थियो । चिठ्ठी पाएपछि कार्यालय सार्नुको साटो कार्यालय प्रमुख बद्रीप्रसाद निरौलाले घरबेटी, आसपासका पसलहरुलाई उचाले । र, अदालतमा मुद्दा दर्ता गर्न लगाए ।
यातायात कार्यालय सञ्चालन भएकै कारण आसपासका घर, फ्ल्याट, सटरको भाडा बढेको छ । मासिक दुई हजार भाडामा नलाग्ने कोठा सात हजारदेखि पन्ध्र हजारमा गइरहेको छ । सटरको त ५० हजारदेखि दुई लाखसम्म भाडा असुलिन्छ । फ्ल्याटको पनि ३० हजारदेखि डेढ लाखसम्म उठाइन्छ । कार्यालय आसपास सञ्चालित स्टेश्नरी, चिया, फलफूल, किराना, फोटो स्टुडियोलगायतको व्यापार मज्जाले फस्टाएको छ ।
दिनहुँ लाखौंको व्यापार हुन्छ । यातायात कार्यालय सरेपछि व्यापारव्यवसाय त ठप्प हुन्छ नै सँगै घरभाडा पनि ह्वात्तै घट्नेछ । अहिले पो यातायात कार्यालय भएकोले कोठा, सटर, फ्ल्याटको लागि लडाईं चल्छ । जतिसुकै भाडा तिर्न पनि मानिसहरु तयार छन् । तर, कार्यालय नै नभएपछि घर भाडामै जाँदैन । त्यसैले, कार्यालय प्रमुखले नै घरधनीहरुलाई उचालेर कार्यालय सार्न रोकिरहेका छन् ।
कानूनमा स्पष्ट भनिएको छ कि हरेक दुई वर्षमा भाडामा बसेको सरकारी कार्यालय सार्नुपर्छ । तर, दुई दशकदेखि एउटै घरमा बसिरहँदासमेत तीनकुनेको यातायात कार्यालयमाथि कसैको आँखा गएको छैन । बरु अझै सोही घरमा बस्न रणनीति भइरहेको छ । अहिले यातायात कार्यालय आसपासका घरधनी, व्यवसायीहरु दाबी गर्छन्–अब कार्यालय सर्दैन । हाकिमले सबै मिलाइसके ।
यसरी राष्ट्रसेवक भएर राष्ट्रलाई नै हानि पुर्याउने काम गरिँदासमेत सरकार रमिते बनेको छ । न त सल्लाघारी यातायात कार्यालयका प्रमुख निरौलामाथि कारबाही गरिन्छ, न उनको कतै सरुवा नै हुन्छ । उनी त आफ्नो योजनामा सफल भइसके । त्यसको भार चाँहि अब राज्य र जनताले भोग्नुपर्ने छ । राज्यले चर्को भाडा तिर्नुपर्ने छ त जनताले सास्ती ।
अर्कोतर्फ, यातायात कार्यालय सञ्चालितसहित आसपासका पुरै एरिया ऐलानी जग्गा भएको बताइन्छ । २०२१ सालमा नापीका क्रममा यी एरियालाई ऐलानी जग्गामा राखिएको स्थानीय बुढापाका दाबी गर्छन् । उनीहरुका अनुसार यातायात कार्यालयअगाडि पहिला ढुंगेधारा र राजकलो थियो । त्यहाँबाटै मानिसहरुले पानी लैजान्थे । लुगा धुन, नुहाउन पनि त्यही आउँथे । तर, अहिले सोही ठाउँमा ठूलो घर छ, त्यो घर विकुलाल खिउँजुको हो ।
उनले तीन वटा ढुंगेधारा र राजकुलो मासेर घर बनाएको आरोप छ । भक्तपुरमा थुप्रै सरकारी जग्गा तथा सम्पत्ति कब्जा भएको छ । विशेषगरी नेमकिपाका नेता–कार्यकर्ताको यसमा संलग्नता पाइन्छ । आफ्ना कार्यकर्तालाई सरकारी जग्गा हड्पन लगाई उनीहरुकै नाममा पास गरिदिने काम भएको छ ।
सल्लाघारी आर्मी ब्यारेक दायाँबायाँ, चङ्गा गणेश, दुवाकोट जाने टर्निङ, खरिपाटी जाने बाटोको दायाँबायाँ, निकोसेरा, सिर्जना, राधेराधे पूरैलाई सरकारी, गुठी, ऐलानी, सिमसार, आर्यघाट भनी ढड्डामा लेखिएको थियो । तर, अहिले यहाँ खाली ठाउँ भेटिनै मुस्किल छ । जताततै निजी घर बनेका छन् । घरधनीहरुसँग घर सम्पन्नता प्रमाणपत्र र लालपूर्जा छ । आखिर कसरी ?
जवाफ सहज छ–राजनीतिक दल, सरकारी कर्मचारी, जनप्रतिनिधिकै मिलीभगतमा सरकारी जग्गा र सम्पत्ति हड्पियो । कब्जा भयो । यतिमात्र होइन, राजपरिवारको जग्गासमेत छोडिएन । सल्लाघारी तीनकुनेमा राजा महेन्द्रले ०२४ सालमा एक सय दश रोपनी जग्गा प्रतिरोपन िएक हजार रुपैयाँमा किनेका थिए । यो जग्गा लालपूर्जामा एक सय दश रोपनी भएपनि एक सय ४५ रोपनी रहेको बताइन्छ ।
०६५ सालमा राजतन्त्रको अन्त्यसँगै यो जग्गा नेपाल ट्रष्टको संरक्षणमा गयो । तर, ट्रष्टको बेवास्ताका कारण थुप्रै जग्गा अतिक्रमण भएको छ । ०७४ सालमा जग्गा घेराबन्दी गर्न अर्थ मन्त्रालयले भक्तपुर नगरपालिकालाई तीन करोड रुपैयाँ दिएको थियो । नगरपालिकाले नापजाँचबिनै जग्गामा पर्खाल लगायो । ६ वटा गेट र पर्खाल लगाइयो ।
त्यसमा बढीमा २५–३० लाख खर्च भएको र बाँकी सबै भ्रष्टाचार भएको स्थानीयको आरोप छ । तर, भक्तपुरका यी बेथिति कसले देख्ने ? संघीय सरकार आँखा चिम्लेर बसेको छ अनि कर्मचारीदेखि जनप्रतिनिधिसम्म राज्यलाई हानि पुर्याइरहेका छन् ।
एक्सप्रेस
सम्बन्धित खबर
गाउँघरमा घट्दो कृषि जैविक विविधता र बढ्दो खाद्य सुरक्षाको चिन्ता
काठमाडौँ । “यसपाली कोदो कति फल्ने होला आमा ?”
” कहाँ बाबु! बिउ मासिएको त भयो दुई चार वर्ष ।”
“गहुँ त सर्लक्कै हराएर गयो नी! बजारको बिउ एक वर्ष छोडेर अर्...
जित्ने कला “पागलपन” जबसम्म तपाईंले हार मान्नु हुन्न -डिआर दाहाल
जीवनको यात्रा कहिलेकाहीं अनिश्चित, चुनौतीपूर्ण र कठिनाइले भरिएको हुन्छ। हामी सबैले कहिल्यै नसकिए जस्तो लाग्ने समस्याहरू र धेरै असफलताहरूको सामना गर्नुपरेको हुन्छ। तर, जीवनका यस्ता क्षणहरूमा नै तपाईंको दृढता, साहस, र आत्मबलको वास्तविक परीक्षा...
बालेन सरकारको चार महिनाः जनतामा आक्रोश र निराशा, देश ब्ल्याकलिष्टमा पर्ने खतरा !
अनुसा थापा_______
भक्तपुर । नेपाल सम्पत्ति शुद्धिकरणको ग्रे–लिष्टमा परेको १८ महिना भयो । २०८१ फागुन ९ गते नेपाल ग्रे–लिष्टमा परेकोमा दुई वर्षभित्र हटाइसक्नुपर्ने प्रावधान छ । ग्रे–लिष्टबाट निकाल्न अब पाँच महिना समय छ । सो अवधिम...
सिंहदरबार वरपर नै धमाधम मीटरब्याजमा पैसा लगानी, देख्दैनन् अर्थमन्त्री र गृहमन्त्री !
अनुसा थापा_____
भक्तपुर । सरकार भन्छः देशमा साक्षरताको दर बढेको छ । जनताको आम्दानीमा व्यापक सुधारमा आउँदा जीवनयापनमा परिवर्तन भएको छ । तर, के वास्तवमै जनता शिक्षित भएका छन् ? जनताले अक्षर चिनेका मात्रै छन् कि कानुन पनि बुझेका छन् ? नत...
खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ
मदन सिंह भाट
युवा नेता र खेलकुद विश्लेषक
नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...
होलीले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिलाई निर्मूल गर्दै मौलिक संस्कृतिको संरक्षण र संवर्द्धन गर्ने प्रेरणा मिलोस् - राष्ट्रपति पौडेल
काठमाडौँ फागुन १८। रङहरूको पर्व फागु पूर्णिमा (होली पर्व) को अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना व्यक्त गरेका छन् ।
होली पर्वको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभा...


