सोमबार, ०१ भदौ २०८३
नेपाली

रवि–बालेनः सरकारको विरोध गरेर सत्तामा पुगे, अहिले विरोधीहरुलाई जेल कोच्दै !

Main News Image

रुषा थापा___

भक्तपुर । भनिन्छ, मानिसलाई सबैभन्दा बढी माया जन्म दिने आमाबुवा र मातृभूमिको हुन्छ । तर, वैदेशिक रोजगारी वा शिक्षाका निम्ति विदेशिने र उतैको पीआर, ग्रिन कार्ड लिने नेपाली बढ्दो छन् । आफ्ना आमाबुबा, मातृभूमि, गाउँघर, साथीभाई सबैलाई बिर्सेर उनीहरुले नेपाली नागरिकता त्याग्छन् । र, पीआर, ग्रिन कार्ड लिन्छन् । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पनि मातृभूमि र नागरिकता परित्याग गरिसकेका व्यक्ति हुन् । कमाउन भन्दै ०५६ सालमा उनी अमेरिका गए । ०६६ सालमा नेपाली नागरिकता र राहदानी त्यागेर उनले अमेरिकी पीआर लिए । अमेरिकामा घरायसी समस्या र मुद्दा मामिलाका कारण ०७१ जेठमा उनी भिजिट भिसामा नेपाल आए । 

त्यसपछि न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ नामक कार्यक्रम चलाए । नेपाल फर्किएको लामो समयसम्म उनले नेपाली नागरिकता पुनः प्राप्तिका निम्ति प्रक्रिया अघि बढाएनन् भने प्रेस कार्डबिनै पत्रकारितामा लागे । उक्त कार्यक्रममार्फत उनी निकै चर्चामा आए । कारण थियो–राजनीतिक दलका नेताहरुको विरोध गर्नु । नेताहरुको हिलो छाप्ने काम उनले गर्थे । 

त्यसैबीच उनका सहकर्मी पत्रकार शालिकराम पुडासैनीले आत्महत्या गरे । काठमाडौंमा डेरा लिई बस्ने नुवाकोटका उनले चितवनमा पुगेर आत्महत्या गरेका थिए । मर्नुअघि पुडासैनीले एउटा भिडियो रेकर्ड गरेका थिए, जसमा आफूलाई यो कदम चाल्न रवि लामिछानेले बाध्य बनाएको बताएका छन् । पुडासैनीको आत्महत्या प्रकरणमा रवि न्यूज रुमबाटै पक्राउ परे । 

अनि उनी कार्यरत टेलिभिजनले अनुसन्धानरत विषयमा न्यायाधीशझैं रवि निर्दोष छन् भन्दै समाचार सम्प्रेषण गर्यो । सर्वसाधारणलाई उकास्यो । रवि पत्नी निकिता त्यतिबेला राजावादी थिइन् । चलचित्र बोर्डको अध्यक्ष र राजावादी भएपछि उनको समर्थनमा कलाकारसँगै राजावादीहरु पनि सडकमा ओर्लिए । चितवनमा भीड थेगिनसक्नु भएपछि प्रहरीले दबाबमा कमजोर मिसिल बनायो । र, न्यायाधीशले रविलाई तारिखमा छोडिदिए । 

प्रहरी हिरासतमा रहँदा आफ्नो समर्थनका सडकमा ओर्लिएको जनसागर देखेपछि रविको मनोबल झनै बढ्यो । आफूले जत्रो ठूलो गल्ती गरेपनि केही हुँदैन भन्ने भ्रम उनमा उत्पन्न भयो । यसपछि ०७९ वैशाखमा स्थानीय तह चुनाव भयो । काठमाडौं महानगरपालिकाको मेयर स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन) ले जिते । त्यो देखेपछि रवि पनि राजनीतिमा लागे । ०७९ असार ७ गते रास्वपा दर्ता गराए । 

पार्टी दर्ता गराउँदा उनले त्यागिसकेको नागरिकताको दुरुपयोग गरे । कानूनमा स्पष्ट भनिएको छ–खारेज भएको नेपाली नागरिकता सम्बन्धित मुलुकमा बुझाउनुपर्छ । तर, रविले बुझाएनन् । आफैंसँग राखे । र, सोही नागरिकताको आडमा पार्टी दर्ता गरे । ०७९ मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भयो । चितवन क्षेत्र नम्बर २ बाट लडेका रवि विजयी भए । 

रास्वपाले चुनावमा २१ सिट जित्यो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२, राप्रपाले १४ सिट जितेको थियो । पुस ११ गते तत्कालिन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा सरकार गठन भयो । चुनावअघि सरकारमा नजाने वाचा गरेका रवि प्रचण्ड सरकारमा गृहमन्त्री बने । त्यसपछि उनी नेपाली नागरिक नै नभएको ठहरियो । 

सर्वोच्चको फैसलाका कारण ३२ दिनमै उनले गृहमन्त्रीसहित सांसद, पार्टी सभापतिलगायत पद गुमाए । अनि बल्ल उनले नागरिकता पुनः प्राप्तिका निम्ति जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिए र नागरिकता लिए । रविकै कारण चितवनमा उपचुनाव गराउनुपर्यो । ०८० वैशाख १० गते भएको उपचुनावबाट पनि उनी नै चुनिए । 

चुनाव प्रचारप्रसारका निक्ति चितवनमा रहँदा रविका ड्राइभरको मृत्यु भयो, त्यो पनि होटलको छतबाट खसेर । उक्त घटनालाई सामसुम पारियो । ती ड्राइभरको हत्या भएको र त्यसमा रविसहितको संलग्नता रहेको आरोप पनि लाग्दै आएको छ । उपचुनावबाट सांसद चुनिएर दोस्रो पटक गृहमन्त्री बनेका रवि सहकारी ठगीमा मुछिए । 

जिबी राईसँग मिलेर सहकारीको अर्बौ रकम हिनामिना गरेको आरोप लाग्यो । त्यसपछि उनको गृहमन्त्री पद गुम्यो । सांसदबाट निलम्बित भए । तर, उनले यसलाई राजनीतिक प्रतिशोध भन्दै अफवाह फैलाएँ । आफूले भ्रष्टाचारका ठूला फाइल खोल्न लागेकोले फसाइएको उनी दाबी गर्थे । कालिकोटमा रास्कोट अस्पताल निर्माणका नाममा करोडौं रकम हिनामिना गरेको आरोप पनि रविमाथि छ । 

यता, पाँच वटा सहकारीमा सर्वसाधारणले राखेको पैसा जिबी र रविले ग्यालेक्सी टिभीमा लगानी गरेका थिए । रवि राजनीतिमा लागेपछि ग्यालेक्सी टेलिभिजन डुब्यो । सँगै सहकारीको पैसा पनि डुब्यो । त्यसलगत्तै जिबी राई फरार भए । रवि प्रहरी हिरासतमा पुगे । सहकारी ठगीमा उनीमाथि पाँच अदालतमा अहिले पनि मुद्दा विचाराधीन नै छ । 

दश करोड बढी धरौटी तिरेर रवि जेलबाट बाहिर निस्किएका हुन् । उनीमाथि लगाइएको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा भने फिर्ता लिइएको छ । ०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलन भयो । उक्त आन्दोलनमा बालेन र रवि दुवैको समर्थन थियो । नख्खु जेलमा रहेका रविले विज्ञप्ति नै निकालेर जेनजी आन्दोलनप्रति समर्थन जनाएका थिए भने बालेनले फेसबुकमा स्टाटस लेखेका थिए । 

२३ गतेको आन्दोलनमा १९ जनाले ज्यान गुमाए । रविले आफ्ना सांसदहरुलाई तुरुन्त राजीनामा दिन निर्देशन दिए । भोलिपल्ट रास्वपा कार्यकर्ताहरुले रविलाई जेलबाट बाहिर निकाले । उनी निस्किएपछि सिंहदबारसहित अदालत, राष्ट्रपति कार्यालय, प्रधानमन्त्री निवासलगायत जलाइयो । जेनजी आन्दोलनमा ७७ जनाले ज्यान गुमाए । हजारौं घाइते र अंगभंग भए । सरकारी संरचनामा ८४ अर्ब ७७ करोड ४५ लाख बराबरको क्षति पुग्यो । 

निजीतर्फ २७ खर्बको क्षति भयो । घाइतेहरुको उपचारमा राज्यको अर्बौ रकम सकियो । मृतकमध्ये ४५ जनालाई मात्र शहिद घोषणा गरियो । तिनका परिवारलाई १५ लाख क्षतिपूर्ति दिइयो । मासिक पेन्सन पनि दिइँदै आएको छ । शहिद घोषणा नभएकाको परिवारले क्षतिपूर्ति पाए न पेन्सन । 

जेनजी आन्दोलनपछि भदौ २७ गते सुशीला कार्की प्रधानमन्त्री बनिन् । प्रधानमन्त्री बनेकै दिन उनले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा गरिन् । कार्की सरकारकी महान्यायाधिवक्ता सविता भण्डारीले रविको संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दा फिर्ता लिइन् । चुनावमा रवि र बालेन सँगै होमिए । 

काठमाडौंको मेयरबाट राजीनामा दिएर बालेन रास्वपाको वरिष्ठ नेता बने । झापाबाट लडे र जिते । आफ्नी श्रीमती चढेको सरकारी गाडी ट्राफिकले रोक्दा सिंहदरबार जलाइदिन्छु, नेताहरुलाई टुकुचामा गाड्दिन्छुजस्ता भड्किलो र अराजक अभिव्यक्ति दिएर चर्चामा आएका बालेन अहिले प्रधानमन्त्री छन् । 

तर, बालेन सरकार गठनको पाँच महिनामै जनतामा व्यापक आक्रोश र निराशा देखिइसक्यो । एकल सरकार हुँदासमेत सिन्को नभाँचेको भन्दै आलोचना भइरहेको छ । यसले बालेन र रवि पनि ढिलोचाँडो भदौ २४ गते कांग्रेस, एमाले, माओवादीको भएकै हविगतमा पुग्ने देखिँदैछ । 


mediabaaji add

सम्बन्धित खबर

जागिरको प्रलोभनमा मौलाउँदै ठगी, सरकार कारबाही गर्छ न श्रमिकको पीडा देख्छ !

रुषा थापा________________

भक्तपुर । बाटोमा हिँडिरहँदा ’कर्मचारी आवश्यकता‘ लेखिएका पोष्टर तथा पर्चा जताततै देखिन्छन् । बत्तीको पोलदेखि घर, स्कुलका भित्तासम्ममा यस्ता पोष्टर र पर्चा टाँसिएका हुन्छन् । जसमा लेखिएको हुन्छ–कर्मचारी आवश्यक,...

नेपाल कालोसूचीमा गर्ने दिन घर्किँदै, अर्थमन्त्री वाग्ले आफ्नै पारामा !

रुषा थापा_______________

भक्तपुर ।   माघ महिना आउन आठ महिनामात्र बाँकी छ । आठ महिनाभित्र नेपाल ग्रेलिष्टबाट नहटे कालोसूचीमा पर्नेछ । वालेन्द्र शाह (वालेन) नेतृत्वको रास्वपा सरकार गठन भएको एक महिना पूरा भएको छ । यसबीचम...

खेलाडीले सहयोग माग्नु हुँदैन, राष्ट्रले जिम्मेवारी लिनुपर्छ

मदन सिंह भाट

युवा नेता र खेलकुद विश्लेषक 


नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा देशको गौरव, सावित्रा भण्डारी (साम्बा) अहिले जीवनकै सबैभन्दा कठिन संघर्ष सामना गरिरहेकी छिन्। मैदानमा देशका लागि निरन्तर शतप्रतिशत...

स्वास्थ्य बीमाः हुनेखानेले उपभोग गर्दा राज्य कंगाल, गरिब उपचारबाट वञ्चित, अब चाँहि मापदण्ड बनाउने कि !

रुषा थापा________

भक्तपुर । पछिल्लो समय घरैपिच्छे रोगी भेटिन्छन् । एउटै घरमा विभिन्न रोगबाट पीडितहरु हुन्छन् । ग्याट्रिक, सुगर, प्रेसर त मानिसका निम्ति सामान्यजस्तै रोग बनिसकेको छ । जोकोही यी रोगबाट ग्रसित देखिन्छन् । यसबाहेक क...