US–Bangla दुर्घटनामा ऐतिहासिक फैसला: काठमाडौँ अदालतद्वारा असीमित क्षतिपूर्ति दिन एयरलाइन्सलाई बाध्य
काठमाडौँ । सन् २०१८ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको US–Bangla Airlines को विमान दुर्घटनामा काठमाडौं जिल्ला अदालतले ऐतिहासिक फैसला सुनाएको छ । अदालतले पाइलट तथा ककपिट क्रूको गम्भीर लापरवाही पुष्टि गर्दै अन्तर्राष्ट्रिय कानुनले तोकेको सीमाभन्दा बाहिर गएर असीमित क्षतिपूर्ति दिन एयरलाइन्स बाध्य हुने ठहर गरेको हो ।
यो फैसला नेपालमा पहिलो पटक कुनै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई विमान दुर्घटनामा सीमित दायित्वभन्दा बाहिर जिम्मेवार ठहर गरिएको नजिर बनेको छ । २०१८ मार्च १२ मा ढाकाबाट काठमाडौं आउँदै गरेको ७६ सिटे Bombardier Q400 विमान अवतरणका क्रममा नियन्त्रण बाहिर गई आगलागीसहित दुर्घटनाग्रस्त हुँदा ५१ जनाको ज्यान गएको थियो। मृतकमध्ये २२ नेपाली, २८ बंगलादेशी र एक चिनियाँ नागरिक थिए।
पाइलटको लापरवाही पुष्टि, दायित्वको सीमा हटाइयो
न्यायाधीश दिवाकर भट्टले दिएको फैसलामा दुर्घटना पाइलट र सह–पाइलटको लापरवाह, असावधान र अविवेकी निर्णयका कारण भएको ठहर गरिएको छ। अदालतका अनुसार यस्तो अवस्थामा Warsaw Convention 1929 तथा Hague संशोधन 1955 अन्तर्गतको सीमित क्षतिपूर्ति लागू हुँदैन, बरु Article 25 अनुसार एयरलाइन्स असीमित रूपमा जिम्मेवार हुन्छ । फैसलामा भनिएको छ, “दुर्घटनाको प्रकृति, ककपिट क्रूको व्यवहार र सुरक्षा मापदण्डको उल्लङ्घनलाई सामान्य त्रुटि मान्न सकिँदैन ।”
१७ परिवारलाई २७ लाख डलरभन्दा बढी क्षतिपूर्ति
अदालतले बीमाबाट पहिले नै प्राप्त प्रति परिवार २० हजार अमेरिकी डलर कट्टा गरी १७ पीडित परिवारलाई कुल २७ लाख ४० हजार अमेरिकी डलर (करिब ३७ करोड ८६ लाख रुपैयाँ) क्षतिपूर्ति दिन US–Bangla Airlines लाई आदेश दिएको छ । एमबिबिएस अध्ययनरत विद्यार्थीहरू, चिकित्सक, नर्स तथा अन्य यात्रुका परिवारलाई पीडितको उमेर, शिक्षा, आम्दानी सम्भावना, आश्रित सदस्य र मानसिक क्षतिका आधारमा फरक–फरक दरमा क्षतिपूर्ति निर्धारण गरिएको छ ।
अदालतले अस्वीकार गर्यो एयरलाइन्सको दाबी
US–Bangla Airlines ले यसअघि नै २० हजार डलर क्षतिपूर्ति दिएको, नेपालमा मुद्दा चल्न नसक्ने र अन्तिम गन्तव्य ढाका भएकाले नेपाली अदालतको क्षेत्राधिकार नलाग्ने दाबी गरेको थियो। तर अदालतले दुर्घटना काठमाडौंमै भएको, पीडित नेपाली नागरिक रहेको र यात्रुहरू राउन्ड–ट्रिप टिकटमा नेपाल फर्किँदै आएको तथ्यका आधारमा नेपाली अदालतको पूर्ण अधिकार क्षेत्र पुष्टि गरेको छ । यसअघि पाटन उच्च अदालतले पनि यस मुद्दामा काठमाडौं जिल्ला अदालतको क्षेत्राधिकार वैध ठहर गरिसकेको थियो।
नेपालको उड्डयन इतिहासमा नजिरनेपालमा विगत सात दशकमा करिब ७० वटा विमान दुर्घटनामा झण्डै एक हजार जनाको ज्यान गएको भए पनि अहिलेसम्म कुनै एयरलाइन्सलाई अदालतले प्रत्यक्ष आर्थिक जिम्मेवार ठहर गरेको उदाहरण थिएन । सात वर्ष लामो कानुनी लडाइँपछि आएको यो फैसला पीडित परिवारका लागि मात्र होइन, नेपालको उड्डयन सुरक्षा, न्याय प्रणाली र यात्रु अधिकारका दृष्टिले ऐतिहासिक नजिरका रूपमा हेरिएको छ ।
एक्सप्रेस
सम्बन्धित खबर
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकोप्रति आपत्ति
काठमाडौँ । नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनले वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति जनाएको छ । एशोसियसनले आज एक विज्ञप्ति जारी गरी मङ्सिर १० देखि लागू हुनेगरी वैदेशिक...
भीमफेदी कारागारका १ सय ६८ कैदीबन्दी अझै फरार
बागमती । मकवानपुरको भीमफेदीस्थित क्षेत्रीय कारागारबाट फरार भएकामध्ये दुई सय ७२ जना कैदीबन्दी कारागार फर्किएका छन् भने एक सय ६८ जना कैदीबन्दी अझै फरार छन् । गत भदौ २४ गते राति कारागारको पर्खाल भत्काएर फरार भएका चार सय ४...
अन्तरजातीय विवाह गरेका २५ जोडी सम्मानित
म्याग्दी । म्याग्दीको मालिका गाउँपालिकाले दलित समुदायसँग अन्तरजातीय विवाह गरेका २५ जोडीलाई नगदसहित सम्मान गरेको छ । लक्षित समुदाय कार्यक्रमअन्तर्गत विनियोजित बजेटबाट आइतबार आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरेका २५ जोडीलाई प्रतिजोडी तीन हजार ५०...
२४ घण्टाभित्र देशका विभिन्न ७ स्थानमा आगलागी
काठमाडौँ । सुक्खायाम सुरु भएसँगै देशव्यापी रूपमा आगलागीका घटनामा वृद्धि भएको पाइएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, यही कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै देश...
मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु
धनुषा । मिथिलामा आजदेखि औपचारिक रूपमा छठ सुरु भएको छ । मिथिलाको सबैभन्दा ठूलो पर्वको रूपमा रहेको छठका लागि जनकपुरधामका घाटहरूलाई सिँगार्ने काम भइरहेको छ। यहाँ रहेका गंगासागर, अरगजा सर, दशरथ तलाउ, धनुष सागर, मटकोरर्वा प...
धार्मिक पर्यटनको केन्द्र बन्दै नवलपुरको दाउन्ने देवी मन्दिर
नवलपरासी । नवलपरासी बर्दघाट सुस्तापूर्व नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ मा अवस्थित दाउन्ने देवी मन्दिर धार्मिक, ऐतिहासिक तथा पर्यटकीय दृष्टिले महत्त्वपूर्णस्थलका रूपमा परिचित बन्दै गएको छ । पूर्वपश्चिम राजमार्ग नजिकै दाउन्ने डाँडाको चुचुरोमा...



