घट्यो चिराइतोको मूल्य, किसान चिन्तित
भोजपुर । लेकाली भेगमा पाइने बहुउपयोगी जडीबुटी चिराइतोको मूल्य यस वर्ष उल्लेखनीय रूपमा घटेपछि यहाँका किसान चिन्तामा परेका छन् । विगत केही वर्षयता किसानको आम्दानीको प्रमुख आधार बनेको चिराइतोले यसपटक अपेक्षाअनुसार मूल्य नपाउँदा खेतीमा संलग्न किसान निराश भएका हुन् ।
गत वर्ष प्रतिमन ४० किलोग्राम चिराइतो रु ४१ हजारसम्म बिक्री भएको भए पनि यस वर्ष प्रतिमन रु २८ देखि ३० हजारसम्ममात्र मूल्य पाइरहेको टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका किसान गुणराज राउतले जानकारी दिए ।
उनका अनुसार उत्पादनमा खासै कमी नआए पनि बजारमा माग घट्नु र मूल्य अस्थिर हुँदा किसानलाई ठूलो असर परेको छ । “गत वर्षको तुलनामा यस वर्ष चिराइतोको मूल्य निकै घटेको छ”, राउतले भने, “मूल्य घटेपछि हामी किसानमा समस्या थपिएको छ ।”
मूल्य बढ्ने आशामा आफूले उत्पादन भएको चिराइतोमध्ये १५ मन बिक्री नगरी गोदाममा सुरक्षित राखेको उनले बताए । हाल २० रोपनी क्षेत्रमा चिराइतोखेती गर्दै आएका राउतले आगामी वर्ष करिब ४० मन उत्पादन गर्ने लक्ष्य राखेका छन् ।
उनका अनुसार मूल्यमा उतारचढाव भए पनि चिराइतोखेतीबाट वार्षिक औसत रु तीनदेखि चार लाखसम्म आम्दानी हुँदै आएको छ । तर यस वर्ष मूल्य घटिरहेमा आम्दानीमा ठूलो गिरावट आउने जोखिम रहेको उनको भनाइ छ ।
टेम्केमैयुङ–१ अन्तर्गत तिम्माको सुम्लिखा, खम्बुखा, सावालगायत लेकाली क्षेत्रहरू चिराइतोखेतीका लागि उपयुक्त मानिन्छन् । यी क्षेत्रबाट वार्षिक करिब एक हजार मनको हाराहारीमा चिराइतो उत्पादन हुने गरेको स्थानीय किसानले बताएका छन् । यहाँका अधिकांश किसानका लागि चिराइतो नगदे बालीका रूपमा स्थापित भइसकेको छ ।
स्थानीय जानकारहरूका अनुसार चिराइतो विभिन्न रोगको घरेलु उपचारका लागि उपयोगी मानिन्छ । ज्वरो, दम, रुघाखोकी, मधुमेह, पिसाब पोल्ने, पेटसम्बन्धी समस्यालगायत रोगमा यसको पात, डाँठ र जरा प्रयोग गरिन्छ । औषधीय गुण उच्च भएकाले यसको माग देश तथा विदेशमा रहने गरेको छ ।
यहाँ उत्पादन भएको चिराइतो भारत, चीन र बङ्गलादेशलगायत मुलुकमा निर्यात हुने गरेको व्यवसायी बताउँछन् । यद्यपि अन्तरराष्ट्रिय बजारको मूल्य घटबढ, ढुवानी खर्च र उचित बजार व्यवस्थापन अभावका कारण किसानले उचित मूल्य पाउन नसकेको गुनासो बढ्दै गएको छ ।
किसानहरूले सरकारले चिराइतोको न्यूनतम समर्थन मूल्य तोक्नुका साथै प्रशोधन, भण्डारण र बजार व्यवस्थापनमा सहयोग गरेमा यसको व्यावसायिक खेती थप विस्तार गर्न सकिने बताएका छन् । स्थानीय तह र सम्बन्धित निकायको ध्यान नगदे बालीको संरक्षण र प्रवर्द्धनतर्फ जानुपर्ने उनीहरूको माग छ ।
एक्सप्रेस
सम्बन्धित खबर
शनिबार कुन विदेशी विनिमयदर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७३ रुपैयाँ ४४ पैसा र...
सरकारले नसुने डिजिटल अर्थतन्त्र गुम्ने आइटी व्यवसायीको चेतावनी
काठमाडौँ । सूचना प्रविधि तथा सफ्टवेयर सेवा क्षेत्रका व्यवसायीहरूले आगामी आर्थिक वर्ष २०८३र८४ को बजेटमार्फत आइटी उद्योगलाई उच्च प्राथमिकता दिन सरकारसँग आग्रह गरेका छन् ।
नेपाल एसोसिएसन फर सफ्टवेयर एन्ड आइटी सर्भिसेज कम्पनीज एनएएस आइटीले सरकार...
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार १०० रुपैयाँले घटेको हो । यससँगै बुधबार छापावाल सुनको मूल्य तोलामा २ लाख ३७ हजार २०० रुपैयाँ कायम भएको छ । यसअघि...
बागमती प्रदेशले समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने
काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि पाँच वटा समस्याग्रस्त बचत तथा ऋण सहकारी संस्थाका साना बचतकर्ताको बचत फिर्ता गर्दैछ ।
समस्याग्रस्त घोषित सिभिल बचत तथा ऋण सहकारी संस्था, दर्शन बचत तथा ऋण सहकार...
बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा २०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९७ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता,आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी...
चुनावका लागि जनकपुर-जयनगर रेल सेवा ३ दिन बन्द गरिने
काठमाण्डौँ । नेपाल रेल्वे कम्पनी लिमिटेडले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्ष्य गर्दै जनकपुर-जय...



