काठमाडौँ उपत्यका तुवाँलोले ढाकियो, तर उडान र यातायातमा तत्काल असर छैन
काठमाडौँ । काठमाडौँ उपत्यकामा शनिबार बिहानदेखि तुवाँलो फैलिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान १० बजेपछि उपत्यकाको आकाशमा देखिएको धुम्म वातावरण तुवाँलो हेजका कारण भएको हो । महाशाखाका मौसमविद् सञ्जीव अधिकारीले बिहान १० बजेसम्म उपत्यकामा हुस्सु देखिएको भए पनि त्यसपछि हावामा पानीका कण नभएको तुवाँलो बनेको जानकारी दिए ।
पारदर्शिता पाँच किलोमिटरभन्दा कम भए पनि पानीका कण नहुने अवस्थालाई हेज भनिने र नेपालीमा यसलाई तुवाँलो भनिने उनले स्पष्ट पारे । अधिकारीका अनुसार हाल काठमाडौँ उपत्यकामा दृश्यता करिब ३ हजार ५ सय मिटर छ। यो स्तरको भिजिबिलिटीले न त हवाई उडानमा ठूलो समस्या ल्याउने न त सडक यातायात प्रभावित हुने उनको भनाइ छ। तर, दृश्यता अझै घटेमा उडान तालिका प्रभावित हुन सक्ने संकेत उनले दिएका छन् ।
मौसमविद्हरूका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले उपत्यकाको आकाशमा बादल त देखिएको छ, तर त्यो प्रभाव माथिल्लो वायुमण्डलमा मात्र सीमित रहेकाले वर्षा हुन सकेन। तल्लो वायुमण्डल सुक्खा र हावाको गति न्यून भएकाले तुवाँलो हट्न नसकेको जनाइएको छ ।
हावाको गति बढेको भए तुवाँलो केही हदसम्म पन्छिन सक्थ्यो, तर अहिलेको स्थिर वायुमण्डलीय अवस्थाले धुम्म वातावरण कायम रहेको मौसमविद् अधिकारीको निष्कर्ष छ । पश्चिमी क्षेत्रमा भने जलवाष्पयुक्त हावा सक्रिय रहेकाले कतिपय स्थानमा वर्षा भएको उनले बताए ।
एक्सप्रेस
सम्बन्धित खबर
पश्चिमी वायुको प्रभाव : उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावले देशभर आंशिक बदली रहेको छ भने आज दिउँसोसम्म तराईका केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेश...
मौसम पूर्वानुमान र सूचना प्रणाली आधुनिक बनाउन आवश्यक : मन्त्री सिन्हा
काठमाडौँ । कानून मन्त्री अनीलकुमार सिन्हाले मौसम सम्बन्धी जानकारी समयमै प्राप्त गर्न पूर्वअनुमान र पूर्वसूचना प्रणालीको भूमिका अत्यन्तै महत्वपूर्ण हुने औंल्याएका छन् । विश्व मौसम दिवसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री सिन्हालले हाल चुनौतीको अवस्...



