मिडियाबाजी डटकम काठमाडौँ, बैशाख १६। अहिले पछिल्लो समय टिकटकमा एउटा गीत निकै भाइरल भइरहेको छ उक्त गीत हो मकैबारी दर्याम दर्याम, हरियो काँक्रो कर्याम कर्याम, सायद यो गीतमा टिकटक नबनाउने कोही पनि छैन होला।
रातारात टिकटकमा हिट भएपछि, युट्युबमा पनि यो गीतले हालसम्म २९ लाखभन्दा बढी भ्युज बटुलिसकेको छ । कहिलेकाहीँ फरक शब्द शैलीका गीत संगीत नेपाली बजारमा चल्ने गर्छन् र दर्शकले पनि फरक स्वाद सुन्न हेर्न मन पराउने गर्छन्, त्यही कुरालाई मध्यनजर गर्दै यस गीतका गायक सर्जक विशाल सोनीले केही दिन अगाडि मकैबारी दर्याम दर्याम गीत बजारमा ल्याएका थिए ।
विशेषगरी युवा पुस्तामाझ लोकप्रिय बनेको यो गीतको शब्द अनि संगीतले धेरैको ध्यान खिचेको देखिन्छ। लोक झ्याउरे प्याटनमा बनेको यो गीतमा , शब्द विशाल सोनीको रहेको छ भने संगीत सन्दीप सेन्चुरीको रहेको छ । त्यसैगरी यस गीतमा स्वर गायक विशाल सनी र गायिका सुषमा शाही ठकुरीको रहेको छ। विशेषगरी मनोरञ्जनकै उद्देश्यले बनेको यो गीत अहिले टिकटकदेखि, युट्युबसँग भाइरल छ । विशाल सोनी लामो समयदेखि नेपाली लोक संगीत क्षेत्रमा संघर्षरत एक गायक हुन्, यस अघि पनि उनका धेरै गीत बजारमा आए तापनि मकैबारी दर्याम दर्यामले जति चर्चा कमाएका थिएनन्, हुन त यसअघि विशाल सोनीले बजारमा ल्याएको कामी दाईको घनठोकाई गीतले भने कहिँ कतै विवाद पनि उत्पन्न गराएको थियो ।