मिडियाबाजी डटकम काठमाडौँ, बैशाख ८। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई गैरकानुनी थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा दायर भएकाे बन्दी प्रत्यक्षीकरणको रिटमाथि आज सुनुवाइ हुँदैछ। आइतबार रविपत्नी निकिता पौडेलले सर्वोच्चमा रिट दायर गरेकी थिइन्।
सुप्रिम बचत तथा ऋण सहकारी ठगी प्रकरणमा चैत २२ गते उच्च अदालत तुलसीपुरको बुटवल इजलासले लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको थियो। सोही दिन उनलाई बूढानीलकण्ठबाट पक्राउ गरी काठमाडौं प्रहरी परिसरमा राखिएको थियो।
एकदिन काठमाडौं र दुई दिन रूपन्देही हिरासतमा बिताएपछि उनी भैरहवा कारागार चलान भएका थिए। उक्त आदेशविरुद्ध रविका तर्फबाट यसअघि सर्वोच्चमा ‘थुनुवा दफा ७३’ निवदेन दायर भएको थियो। उक्त निवेदनमा सर्वोच्चले कैफियत प्रतिवेदन मगाउने आदेश गरिसकेको छ।