मिडियाबाजी डटकम काठमाडौँ, चैत्र २६ । सत्तारुढ नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजतन्त्रले नेपालमा कहिल्यै पनि सत्कर्म नगरेको बताएका छन् । आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टीको वृहत् जागरसभालाई सम्बोधन गर्दै महासचिव पोखरेलले त्यसैको परिणाम आज नेपाली जनताले भोगिरहेका बताए ।
नेपाली राजतन्त्रको इतिहासमा पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अरू कसैले सत्कर्म नगरेका उनले बताए । ‘गाउँघरमा एउटा भनाइ छ–मान्छेले सत्कर्म गरेको रहेनछ भने मरेपछि प्रेत बनेर दुःख दिन्छ, सत्कर्म गरेको रहेछ भने सजिलै स्वर्ग जान्छ, दुष्कर्म गरेको रहेछ भने प्रेत बनेर दुःख दिन्छ, नेपालको राजनीतिमा अढाई सय वर्षसम्म शासन गरेको शाह वंशीय शासन सत्ताले सत्कर्म गरेको रहेनछ, त्यसैले प्रेत बनेर जनतालाई दुःख दिइरहेको छ, हामी त्यही प्रेत मन्छाउन आएका छौँ’, पोखरेलले भने ।
जनताले ल्याएको परिवर्तनका विरुद्ध प्रतिगामी सलबलाएकाले त्यसको खबरदारी गर्न एमाले सडकमा आउनु परेको पोखरेलले बताए । जनताले ल्याएको परिवर्तनविरुद्ध औंला ठड्याएकाले त्यसका विरुद्ध खबरदारी गरिएको उनले स्पष्ट पारे । नेकपा एमाले जनताले रोजेको पहिलो पार्टी भएकाले जनताले ल्याएको परिवर्तनको संरक्षणको लागि नेकपा एमाले जनताका बीचमा आएको पोखरेलले बताए । जनताले ल्याएका परिवर्तन अरू कसैले नबोके पनि एमाले एक्लैले भए पनि बोक्ने पोखरेलले स्पष्ट पारे ।