मिडियाबाजी डटकम काठमाडौँ, चैत्र १५ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाउने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा दायर गरेको रिटको पेसी न्यायाधीश अब्दुल अजीज मुसलमानको इजलासमा तोकिएको छ ।
यस्तै अघिल्लो रिक्त कार्यकालको पारिश्रमिकसहित आर्थिक सेवा सुविधा माग गर्दै नव नियुक्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले दायर गरेको रिटको पेसी पनि मुसलमानकै इजलासमा परेको छ । घिसिङको पेसी इजलासको दोस्रो र शाक्यको पाँचौँ नम्बरमा रहेको छ । घिसिङ र शाक्य दुवै बुधबार साँझ सर्वोच्च पुगेका थिए ।
उनीहरूको रिट निवेदन दर्ता भएको थियो । कुलमानले रिटमा आफूलाई हटाउने निर्णय बद्नियतपूर्ण र गैरकानुनी दाबी गरेका छन् । उनले सरकारको उक्त निर्णय कार्यान्वयनमा तत्काल रोक लगाई आफूलाई काम गर्न दिने अन्तरिम आदेश माग गरेका छन् । सोमबारको मन्त्रिपरिषद् बैठकले उनलाई कार्यकारी निर्देशक पदबाट बर्खास्त गरेर शाक्यलाई नियुक्त गरेको थियो । कुलमानको यो दोस्रो कार्यकाल हो । चार वर्षको कार्यकालमा चार महिना समय बाँकी थियो ।
शाक्यले पदभार ग्रहण गरिसकेका छन् । शाक्य नियुक्त भएसँगै सञ्चालक समितिको बैठक बसिसकेको छ । बैठकले दुरगामी निर्णयसमेत गरिसकेको छ । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएका हितेन्द्र देव शाक्यको पनि बिहीबार नै सर्वोचमा रिट निवेदन दर्ता भएको थियो । उनले आफ्नो पुरानो निवेदनमा कारबाही नगरी नयाँ विषयमा प्रवेश नगर्न माग गरेका छन् ।