मिडियाबाजी डटकम काठमाडौँ, चैत्र ६ । आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौमा हुने सगरमाथा संवाद कार्यक्रमको तयारीका लागि प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज निर्देशक समितिको पहिलो बैठक सम्पन्न भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको बैठकमा कार्यक्रमको समग्र व्यवस्थापन, रुपरेखा, विदेशी राष्ट्रप्रमुख तथा सरकार प्रमुखसहित अतिथिहरुको निमन्त्रणा, विज्ञहरुको सहभागिता, सद्भावना दूतको नियुक्ति र निजी क्षेत्रसँगको सहकार्यलगायत विषयमा छलफल भएको छ । बैठकमा प्रधानमन्त्री ओलीले सबै क्षेत्रको सहयोग र सहभागिता लिइ कार्यक्रमलाई विशेष बनाउन आग्रह गरे । उनले कार्यक्रमको तयारी हरेक हिसाबले पर्फेक्ट रुपमा गर्न निर्देशन दिए ।
सगरमाथा संवाद कार्यक्रम सञ्चालनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सचिवालय सञ्चालनमा आइसकेको छ । संवाद कार्यक्रमका लागि प्रधानमन्त्री ओलीको अध्यक्षतामा निर्देशक समिति र परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाको अध्यक्षता र वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीको सहअध्यक्षतामा व्यवस्थापन समिति गठन गरिएको छ ।