मिडियाबाजी डटकम काठमाडौँ, फागुन १८ । हिमपातका कारण रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा अलपत्र परेका यात्रुको उद्धार गरिएको छ । शुक्रबार रातिदेखि परेको हिमपातका कारण अवरुद्ध मध्यपहाडी लोकमार्गको लुकुम–पातिहाल्ना क्षेत्रमा अलपत्र परेका यात्रुको उद्धार गरिएको हो । रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेका तीनवटा बससँगै अन्य साना गाडीमा सवार यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ ।
हिमपातका कारण बाटो बन्द भएपछि शुक्रबार दिउँसोबाट बस रुकुमपूर्व र बागलुङ सीमाना पार गर्न नसक्दा यात्रु अलपत्र परेका थिए । रुकुमपश्चिमबाट काठमाडौँका लागि छुटेको बस शुक्रबार दिउँसो पातिहाल्ना नजिक पुगे पनि हिउँका कारण अगाडि बढ्न नसक्दा रातभरि र शनिबार दिनभर बसमै बिताएको रुकुमपश्चिमकी प्रेमिका मल्लले बताइन् । त्यहाँ नजिकै होटल नभएको र पातिहाल्नामा भएको साना दुई होटलमा बस्न नअटाउने भएपछि ४८ घण्टासम्म खाना नपाएर बिताएको यात्रुहरूको भनाई छ ।