मिडियाबाजी डटकम काठमाडौँ, फागुन १५ । नेपाल राष्ट्र बैंकले बैंकहरुको नाफा बढ्न सघाउनेगरी चालु आवको अर्धवार्षिक मौद्रिक समीक्षा सार्वजनिक गरेपछि शेयर बजारमा लागानीकर्ता बैकिङतर्फ आर्कर्षित हुँदा समग्र नेप्सेमा हरियाली छाएको छ । बिहीबार बजार ४९.१५ विन्दुले बढेर २८१५.०४ अंकमा उक्लिएको छ । बढ्दो बजारलाई दैनिक कारोबारले समेत साथ दिएको छ ।
केन्द्रीय बैंकले मंगलबार सार्वजनिक गरेको मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षामार्फत बैंक–वित्तीय संस्थाको प्रोभिजन दर घटाइएको छ । नयाँ व्यवस्था अनुसार असल कर्जाको प्रोभिजन दर १ प्रतिशतमा झारिएको छ । यसअघि यस्तो दर १.१० प्रतिशत थियो । यस प्रावधानले बैंक तथा वित्तीय संस्थाहरुको झन्डै ५ अर्ब मुनाफा बढ्ने आँकलन गरिएको छ । यसले गर्दा शेयर बजारका लगानीकर्ता बैंक तर्फ आर्कर्षित भएका हुन । यो समूहको सूचक ३.३२ प्रतिशतले बढको छ ।
बिहीबार नेप्से परिसूचक ४९.१५ अंक बढेर २८१५.०४ विन्दुमा पुगेको छ । यस दिन ३०० स्टकको १ लाख १२ हजार ३२ पटकको कारोबारमा ११ अर्ब ३९ करोड २४ लाख १ हजार रुपैयाँबराबरको २ करोड ६१ लाख ९९ हजार कित्ता शेयर खरिदबिक्री भएको छ । यस दिन १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक बढेको छ ।
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयर निरन्तर १३ औँ कारोबार दिन सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, यस दिन अप्पर हेवाखोला हाइड्रोपावर, सिन्धु विकास बैंक र दोर्दी खोला जलविद्युतको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन भुगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमूल्य सर्वाधिक ७.१७ प्रतिशत घटेको छ।