रुस–युक्रेन युद्ध अन्त्यबारे ह्वाइट हाउसमा म्याक्रोन र ट्रम्पबीच भेटवार्ता

  फागुन १३, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ, फागुन १३ ।  फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले युक्रेनका सम्बन्धमा हुने कुनै पनि शान्ति सम्झौता सुरक्षा ग्यारेन्टीका साथ हुनुपर्ने बताएका छन् । रुस–युक्रेन युद्धबारे छलफल गर्न ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेपछि फ्रान्सेली राष्ट्रपति म्याक्रोनले युक्रेनको सुरक्षा ग्यारेन्टीबिना युद्धविराम गर्न नहुने बताएका हुन् ।

‘यो शान्तिको अर्थ युक्रेनको आत्मसमर्पण हुनु हुँदैन । युक्रेनको सुरक्षा ग्यारेन्टी बिनाको युद्धविराम हुनु हुँदैन’, म्याक्रोनले सोमबार संयुक्त पत्रकार सम्मेलनमा भने । ट्रम्पले युक्रेनमा शान्ति सुनिश्चित गर्ने लागत र व्यय अमेरिकाले मात्र नभई युरोपेली देशहरूले वहन गर्नुपर्ने बताएका छन् । जवाफमा म्याक्रोनले युरोपले सुरक्षा लागतलाई अझ समानरूपमा बाँडफाँट गर्ने आवश्यकता महसुस गरेको जनाएका छन् ।

उनले रुसी आक्रमणको तेस्रो वार्षिकोत्सवमा भएको वार्ताले अगाडि बढ्ने बाटो देखाएको पनि बताए । ट्रम्पले आफूले सकेसम्म चाँडो युद्धविराम चाहेको बताएका छन् । युद्धविराम भएलगत्तै आफू राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न रुस जाने ट्रम्पले बताए । हालै जेलेन्स्कीले शान्ति वा नेटोको सदस्यता पाएमा आफू पद त्याग्न तयार रहेको बताएका थिए । 

तपाईंको प्रतिक्रिया

थप खबर