क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि के गर्दैछ सरकार ?

  माघ २८, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , माघ २८ । सरकार क्षतिग्रस्त बिपी राजमार्ग पुनर्निर्माणका लागि स्रोत जुटाउन लागेको छ । गत असोज दोस्रो साताको बाढी पहिरोबाट क्षतिग्रस्त राजमार्ग पुनर्निर्माणका लागि सरकार स्रोत जुटाउन लागिपरेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सडक कुन मोडालिटीमा कसरी पुनर्निर्माण गर्ने भन्ने विषयमा निक्र्योल गर्न निरीक्षण गरेको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, मन्त्रालयका सचिव केशवकुमार शर्मा तथा डिभिजन सडक कार्यालय भक्तपुरको टोलीले शनिबार क्षतिग्रस्त सडकको अनुगमन समेत गरेको छ । सडक अनुगमनमा क्रममा मन्त्री दाहालले करिब एक हप्तामा सडक पुनर्निर्माणका लागि स्रोत सुनिश्चितता हुने बताए । ‘करिब एक हप्तामा सरकारद्वारा क्षतिग्रस्त सडक पुनर्निर्माणको स्रोत सुनिश्चितता हुनेछ, त्यसपछि प्रक्रियामा लाग्नेछौँ’, दाहालको भनाइ उद्धृत गर्दै कार्यालय प्रमुख सिनियर डिभिजनल इञ्जिनियर सुमन योगेशले भने ।

योगेशका अनुसार एक हप्तामा क्षतिग्रस्त सडक पुनर्निर्माणको स्रोत सुनिश्चितता भए प्रक्रियागत रूपमा अघि बढ्दा आउँदा वैशाखसम्म ठेक्का लगाइ स्थायी पुनर्निर्माण थालिनेछ । त्यसअघि हाल बगरमा गरिएको डाइभर्सन तथा सडकको पुरानै स्थानलाई अवस्था हेरी दुईदेखि तीन मिटरसम्म उचाइ बनाउने तथा अप्ठ्यारो भएको स्थानमा जाली भरेर उचाइ बनाउन सकिने छलफल भएको योगेशले बताए । उनले भने, ‘कुनै अवरोध नभए वैशाखदेखि पुनर्निर्माण सुरू हुन्छ, अन्यथा वर्षामा गाडी सञ्चालन गर्न अस्थायी रूपमा भए सडकलाई उचाइ गर्नुपर्ने देखिएको हो ।’

कार्यालयद्वारा गत पुसमा गरिएको अध्ययनले क्षतिग्रस्त सडक पुनर्निर्माण गर्न करिब रू साढे नौ अर्ब लाग्ने देखाएको थियो । प्रारम्भिक अध्ययनअनुसार बिपी राजमार्गअन्तर्गत भकुण्डेदेखि नेपाल थोकसम्मको विभिन्न स्थानमा पुनर्निर्माण गर्न रू नौ अर्ब ६६ करोड लाग्ने अनुमान गरिएको हो । उक्त राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित चौकीडाँडादेखि रोशी गाउँपालिकाको कालढुङ्गासम्म १२ किलोमिटर सडकखण्डमध्ये आठ किलोमिटर सडकखण्ड पूर्णरूपमा क्षति पुगेको थियो ।

तपाईंको प्रतिक्रिया

थप खबर