मिडियाबाजी डटकम काठमाडौँ , माघ २३ । प्रतिनिधिसभाको बिहीबारको बैठकमा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गरिने भएको छ । संसदमा विचाराधीन विधेयक र पेस भएका अध्यादेशका सम्बन्धमा प्रमुख दलका सचेतकसँग सभामुख देवराज घिमिरेले गरेको छलफलका क्रममा अध्यादेशविरुद्ध परेका विरोध सूचनालाई एकसाथ निर्णयार्थ प्रस्तुत गर्ने सहमति भएको हो ।
विभिन्न ६ वटा अध्यादेशविरुद्ध ५१ वटा विरोधका सूचना दर्ता भएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसा १ बजे बोलाइएको छ । बैठकमा सरकारले ल्याएको अध्यादेश निर्णयार्थ प्रस्तुत गर्ने तयारी छ । प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको प्रस्तावकर्ताले ५ मिनेट र समर्थकले ३ मिनेट बोल्न पाउने भएका छन् ।
सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा बसेको बुधबार प्रमुख दलका प्रमुख सचेतक र सचेतकरूसँगको छलफलमा यस्तो सहमति भएको हो । छलफलमा कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसिया पनि थिए । छलफलपछि कानुनमन्त्री चौरसियाले पत्रकारहरूसँग कुरा गर्दै अध्यादेश अस्वीकृतको प्रस्तावकर्तालाइ ५ मिनेट र समर्थकलाई ३ मिनेट बोल्न दिने तय भएको जानकारी दिएका हुन् ।