मिडियाबाजी डटकम काठमाडौँ , मंसिर २८ । नेपाल उद्योग वाणिज्य महासंघको मंगलबार सम्पन्न विशेष साधारण सभाले सर्वसम्मत रूपमा विधान संशोधन गरेको छ । महासंघको विधान २०४९ मा गरिएको सातौँ संशोधनले संस्थागत विकास तर्फ महत्त्वपूर्ण निर्णय गरेको छ ।
महासंघको अध्यक्ष प्रत्यक्ष रूपमा निर्वाचित हुने व्यवस्था गरिएको छ । कार्यकाल दुई वर्षको हुनेछ । २०७३ यता वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था गरिएको थियो । नयाँ संशोधन अनुसार वर्तमान वरिष्ठ उपाध्यक्ष अध्यक्ष भएर कार्यकाल सकिएपछि हुने वार्षिक साधारण सभाले प्रत्यक्ष निर्वाचनबाट अध्यक्षको चयन गर्नेछ ।
महासंघ कार्यकारिणी समितिमा तीन जना उपाध्यक्ष रहँदै आएकोमा पाँच पुर्याइएको छ । यसैगरि एक जना वरिष्ठ उपाध्यक्ष रहनेछ । वरिष्ठ उपाध्यक्षको चयन पनि कार्यकारिणी समितिले गर्नेछ । जिल्ला नगर तर्फ एक थप गरि दुई जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।