मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ११ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ र प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । उनीहरूले आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका हुन् ।
भेटमा प्रधानमन्त्री ओलीको आसन्न चीन भ्रमणका विषयमा कुरा गरिएको नेकपाले जनाएको छ । प्रधानमन्त्री ओलीलाई चीन भ्रमणका क्रममा चीनसँग राष्ट्र र जनहितका कुरा गर्दा आउने अवरोध र विरोधसँग नडराउन आग्रह गरिएको नेकपा नेताहरूले बताएका छन् । उनीहरूले प्रधानमन्त्रीको चीन भ्रमणको शुभकामना पनि दिएका छन् ।
भेटमा नेताहरूले देशको स्थिति जटिल बन्दै गएको र अराजकता मौलाउन खोजेको भन्दै त्यसको समाधान नयाँ ढङ्गले खोज्नु पर्ने बताएका थिए । भेटमा यसअघि नेकपासँग गरिएको तीन बुँदे सहमति कार्यान्वयन लगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको नेताहरूले बताएका छन् ।