त्रिभुवन विमानस्थलको हवाई इन्धन डिपो सारिने, लागत कति लाग्छ ?

  मङि्सर ०६, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , मंसिर ६ । सिनामंगलमा रहेको अति जोखिमयुक्त हवाई इन्धन डिपो सार्ने प्रक्रिया अघि बढेको छ । डिपो स्थानान्तरणका लागि विस्तृत सम्भाव्यता अध्ययन डीपीआर गर्न त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानलाई जिम्मा दिइएको छ ।

डीपीआर गर्न संस्थानको कन्सल्टेन्सी सेवा विभागका सहप्राध्यापक नारायणप्रसाद गौतम र सिनामंगलस्थित हवाई इन्धन डिपो प्रमुख प्रदीप यादवबीच बुधबार द्विपक्षीय सम्झौता भयो  । सम्झौतासँगै अति जोखिममा रहेको डिपो स्थानान्तरण प्रारम्भ भएको यादवले बताए । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीको विशेष निर्देशन र निगमका कार्यकारी निर्देशक चण्डिकाप्रसाद भट्टको नेतृत्वमा नयाँ ठाउँमा डिपो स्थानान्तरणको काम सुरु भएको उनको भनाइ छ ।

नयाँ डिपो विमानस्थलको उत्तरतर्फ, नेपाली सेनाको गल्फ कोर्स नजिकै, गुह्येश्वरीमा ५० रोपनी जग्गामा बन्नेछ। नागरिक उड्डयन प्राधिकरणसँग सम्झौताअनुसार, नयाँ डिपोमा ३ हजार किलोलिटर क्षमताका पाँचवटा भण्डारण ट्यांकी राखिनेछ।

सिनामंगलमा रहेको ५० वर्ष पुरानो डिपोको भण्डारण क्षमता ७,६६० किलोलिटर हो, जसबाट दैनिक ४०० किलोलिटर इन्धन बिक्री हुँदै आएको छ। नयाँ डिपो निर्माणका लागि ६ अर्ब रुपैयाँ लाग्नेछ, र कन्सल्टेन्सी सेवाको साथमा एक करोड ९८ लाख रुपैयाँको सम्झौता भएको छ।

तपाईंको प्रतिक्रिया

थप खबर