मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक ३० । सरकार सञ्चालनको नेतृत्व गरिरहेको नेकपा एमालेले आगामी मंसिर ७ गते काठमाडौँमा जागरणसभा गर्दैछ । एमालेको उपत्यका मातहत कमिटी, जनसंगठन र विभागीय प्रमुखको संयुक्त विस्तारित बैठकले जागरणसभा गर्ने निर्णय लिएको हो । एमालेले गर्न लागेको जागरण सभालाई विधिको शासन र कानुनी राज्यको पक्षमा जनमत निर्माण गर्ने कार्यक्रम भएको बताएको छ ।
नेकपा एमालेले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको पक्षमा जनमत तयार गर्ने उद्देश्य समेत राखेर कार्यक्रम आयोजना गर्न लागिएको जानकारी दिएको छ । एमाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला कमिटीहरू मुख्य आयोजक, विभिन्न जनसंगठन, पेसागत संगठन, सम्पर्क समन्वय कमिटी र विभागहरूको सहभागितामा मंसिर ७ गते काठमाडौंमा जागरण सभा हुँदैछ । पत्रकार सम्मेलनमा वर्तमान सन्दर्भमा जनताका बिचमा पार्टीको दृष्टिकोण र मान्यता स्पष्ट गर्न जरुरी भएकोले जनजागरण सभाको आयोजना गर्न लागेको जानकारी दिइयो ।
राजनीतिक अस्थिरता र अराजकताका विरुद्ध, विधिको शासन र कानुनी राज्यका पक्षमा जनमत निर्माण गर्न, गौरवशाली इतिहास, सही र सक्षम नेतृत्व, क्रान्तिकारी विचार, अग्रगामी सोच र स्पष्ट गन्तव्यलाई प्रष्ट पार्न, वर्तमान संयुक्त सरकारले गरेका काम, उपलब्धि र आगामी योजनाका बारेमा जनतालाई स्पष्ट गर्न, सुशासन, विकास र समृद्धिका लागि राजनीतिक स्थायित्व कायम गर्न, संवैधानिक, कानुनी र संरचनागत सुधारको प्रक्रिया अघि बढाउन आगामी मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीका पक्षमा जनमत निर्माण गर्न सभा गर्न लागिएको पार्टी प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।