मिडियाबाजी डटकम काठमाडौँ , कार्तिक २६ । मोहम्मद युनुसको नेतृत्वमा रहेको बङ्गलादेशको अन्तरिम सरकारले अपदस्थ प्रधानमन्त्री शेख हसिनालाई भारतबाट फिर्ता ल्याउन अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टरपोलको सहयोग लिने भएको छ ।
हसिनासँगै उनको पार्टीका सम्पर्कविहीन भएका अरु नेताहरूलाई खोज्न पनि बङ्गलादेशले इन्टरपोलको सहयोग लिने भएको हो । बङ्गलादेशको अन्तरिम सरकारले इन्टरपोललाई ‘रेड कर्नर नोटिस’ जारी गर्न भनेको छ । यसअघि पूर्व प्रधानमन्त्री हसिना अपदस्थ हुनेगरी बङ्गलादेशमा विद्यार्थी नेतृत्वको आन्दोलन भएकामा प्रहरीले गरेको कारबाहीमा ७ सय बढीको ज्यान गएको थियो ।
आन्दोलन चर्किएको समयमा हसिना देश छाडेर भाग्न बाध्य भएकी थिइन् । हसिना र अन्य अवामी लीगका नेताहरूमाथि जुलाई र अगस्टमा भएको विरोधलाई दबाउन प्रहरीलाई आदेश दिएको आरोप छ । नयाँ अन्तरिम सरकारले हसिनामाथि मानवताविरुद्धको अपराध गरेको आरोप समेत लगाएको छ ।