मिडियाबाजी डटकम काठमाडौँ , असोज २१ । मौसम पूर्वानुमान महाशाखाले नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन सुरु भएको जनाएको छ । महाशाखाका अनुसार यस वर्षको मनसुन निर्धारित समय भन्दा चार दिनपछि आइतवारदेखि बाहिरन सुरु भएको हो । महाशाखाले आइतबार साँझ जारी गरेको मौसम सम्बन्धी बुलेटिन अुनसार सुदूरपश्चिम प्रदेशलगायत कर्णाली प्रदेशका धेरै तथा लुम्बिनी प्रदेशका पश्चिमी भू–भागको थोरै स्थानहरूबाट मनसुन आइतवार बाहिरिएको छ । मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद् रोजन लामिछानेले बताए ।
विभागको मौसम पूर्वानुमान महाशाखाले मनसुन बाहिरिन थालेपछि आगामी तीन दिन भने केही ठाउँमा वर्षाको सम्भावना रहेको जनाएको छ । महाशाखाका अुनसार कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ । साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बङ्गालको उत्तर भू–भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।