मिडियाबाजी डटकम काठमाडौँ , असोज १६ । काठमाण्डौ ओहोरदोहोर गर्ने मुख्य नाका नागढुङ्गा–नौबिसे सडकखण्ड दुईतर्फी नै चले पनि गाडीको चाप रहेको छ । पहिरो पन्छाएर सडक खुलाए पनि गाडीको ओहोरदोहोर सामान्य हुन नसकेको ट्राफिक प्रहरीले जनाएको छ ।
ट्राफिक प्रहरीका अनुसार पहिरो खसेका ठाउँहरुमा गाडी सञ्चालन हुन अझै समस्या छ । पहिरो पन्छाए पनि जोखिम कायमै रहेकाले ती ठाउँहरुमा आलोपालो गरेर गाडी सञ्चालनमा ल्याइएको छ ।
नागढुङ्गा– मुग्लिन सडक योजनाले यो सडकको विकल्पमा साना र मझौला गाडीहरुले सितापाइले–धार्के तथा गल्छी–बिदुर–छहरे–टोखा सडक प्रयोग गर्न सक्ने जनाएको छ । ठूला गाडीहरुलाई भने नागढुङ्गा–नौबिसे सडकखण्ड प्रयोग गर्नुको विकल्प छैन ।
प्रहरीले अझै केही दिन अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र यात्रा गर्नुपहिले सडकको अवस्थाबारे जानकारी लिन अनुरोध गरेको छ । यतिबेला नागढुङ्गादेखि नारायणगढसम्म कतै अवरोध नभएको ट्राफिक प्रहरीले जनाएको छ ।