गोरखाका गाउँलेले हेलिप्याडमा ढुङ्गा थुपारेर रोके उडान, कारण यस्तो छ

  असोज ०९, २०८१

मिडियाबाजी डटकम काठमाडौँ , असोज ९ ।   गोरखाको उत्तरी चुमनुब्री गाउँपालिका–१ सामागाउँका स्थानीयले हेलिकोप्टर उडान रोकेका छन् । निषेधित क्षेत्र हटाउनुपर्नेलगायत माग राख्दै उनीहरूले हेलिकोप्टर उडानमा अवरोध गरेका हुन् । सामागाउँमै मनास्लु हिमाल छ । मनास्लु आरोहणका लागि तीन सय बढी आरोही सामागाउँ हुँदै मनास्लु बेस क्याम्प पुगेका थिए ।

फर्कन चाहने पर्यटक हेलिकोप्टर उडानमा स्थानीयको अवरोधका कारण सामागाउँमै रोकिनु पर्ने अवस्था सिर्जना भएको छ । चुमनुब्री गाउँपालिका–१ का अध्यक्ष कर्मा छेवाङ लामाले बाध्यताले गर्दा हेलिकोप्टर उडानमा अवरोध गर्नुपरेको बताउँछन् । ‘निषेधित क्षेत्रकै कारण स्थानीय बासिन्दालाई चाहिएका बेला तत्काल हेलिकप्टर मगाउँदा आउँदैन, धेरै बिरामीले उपचार नपाएर मर्नुपर्‍यो गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालयलाई लामो समयदेखि हेलिकप्टर उडान सहज बनाउन माग गरे पनि बेवास्ता गर्दा यो अवस्था आइपर्‍यो’, उनले सुनाए ।

सामागाउँमा रहेको हेलिप्याडमा ढुङ्गा राखेर स्थानीयले अवरोध गरेका हुन् । आफूहरुको माग पूरा नभएसम्म हेलिकोप्टर उडान गर्न नदिने स्थानीय बताउँछन् । निषेधित क्षेत्र भएकै कारण आफूहरुले चाहिएको बेला तुरून्तै हेलिकप्टर मगाउन सक्ने अवस्था नरहेको उनीको भनाइ छ । यहाँ रहेका नेपाल प्रहरी र सशस्त्र प्रहरीले बल प्रयोग गरे आफूहरु पनि सोही अनुसार अघि बढ्ने स्थानीय बताउँछन् ।

गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य राजेन्द्र बजगाईले संसदमा पटक–पटक उत्तरी गोरखामा हेलिकोप्टर उडान सहज बनाउन सरकारसँग माग गरेका थिए । घाइते तथा बिरामीलाई हेलिकोप्टर चार्टर गर्नुपर्दा दुई–तीन दिनसम्म लगाउने गरेको भन्दै सामागाउँबासीले सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए ।

तपाईंको प्रतिक्रिया

थप खबर