मिडियाबाजी डटकम काठमाडौँ , असोज ९ । अब सहकारी संस्थाहरुले एक सदस्यलाई पुँजीको कोषको १० प्रतिशत भन्दा बढी ऋण लगानी गर्न नपाउने भएका छन् ।
काठमाडौं महानगरपालिकाको सहकारी विभागले सहकारी संस्थाहरूलाई अनिवार्य रूपमा पालना गर्न दिएको १५ बुँदे निर्देशनले यस्तो व्यवस्था गरेको हो । महानगरले सहकारी संस्थाहरूले नक्कली ऋणी खडा गरी लगानी नगराउन, धितो वा जमानी नराखी न्यून धितो राखी ऋण लगानी नगर्न निर्देशन दिएको छ ।
सहकारीको उद्देश्य तथा कार्यक्षेत्र विपरीत लगानी र त्यस्तो अधिकार प्रबन्धक वा अन्य पदाधिकारी वा सदस्यलाई प्रत्यायोजन नगर्ने, संस्थाको बचत रकम प्रयोग गरी व्यापारिक प्रयोजनका लागि घर जग्गाको किनबेच वा कारोबारमा लगानी नगर्न निर्देशन दिएको हो ।
यस्तै, महानगरले सहकारी संस्थाको बचत प्रयोग गरी सेयर किनबेच प्रयोजनका लागि प्रयोग नगर्ने, संस्थाको उद्देश्य तथा कार्यक्षेत्र विपरीतका कार्यमा खर्च नगर्ने, विदेश अध्ययन वा यस्तै प्रयोजनमा बचत रकमको प्रयोग नगर्ने, गैरकानूनी आयात निर्यातमा बचत रकम प्रयोग नगर्ने, संस्थाको सदस्य बाहेकका व्यक्तिलाई ऋण लगानी नगर्ने(नगराउने गरि अनिवार्य पालना गर्न निर्देशन दिइएको हो ।
सहकारी संस्थाले प्रदान गर्ने बचत र ऋणको ब्याजदर बीचको अन्तर ६ प्रतिशतभन्दा बढी कायम गर्न पाउने छैनन् । प्राथमिक पूँजी कोषको १५ गुणाभन्दा बढी हुने गरी बचत सङ्कलन नगर्न निर्देशन छ ।