मिडियाबाजी डटकम काठमाडौँ , असोज ४ । सर्वोच्च अदालतले पूर्व प्रहरी महानिरीक्षक आइजिपी ओमविक्रम राणाको मुद्दामा सम्बन्धित फाइल मगाउने आदेश गरेको छ । न्यायाधीशद्वय मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलास शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्णय र अरु सम्बन्धित फाइल मगाउने आदेश गरेको हो ।
गत साउन १८ गते पूर्व महानिरीक्षक राणाले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए । सुडान घोटाला प्रकरणमा दोषी ठहर भएका उनले आफ्नो निवृत्तिभरण रोकिएको विरुद्ध रिट दायर गरेका हुन् । सो रिटमा साउन १८ गते न्यायाधीश विनोद शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ भइ कारण देखाउ आदेश र अन्तरिम आदेशसम्बन्धीमा छलफलका लागि विपक्षीलाई बोलाउने आदेश भएको थियो ।
सुडानका लागि शान्ति मिसनमा जाने प्रहरीको बन्दोबस्तीको सामान किन्ने सम्झौतामा घोटाला भएको भन्दै विशेष अदालत र सर्वोच्च अदालतले तत्कालीन महानिरीक्षक राणासहित अन्य संलग्नहरूलाई भ्रष्टाचारी ठहर गरेको थियो ।