मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ३० । भारत सरकारले देशबाट हुने निर्यातलाई प्रोत्साहन गर्न र किसानहरूको आय बढाउन प्याज र बासमती चामलको न्यूनतम निर्यात मूल्य (एमईपी) मा रहेको सीमा हटाएको छ।
कृषि गतिविधिका लागि निकै महत्वपूर्ण राज्यहरु महाराष्ट्र र हरियाणामा विधानसभा चुनाव नजिकिँदै गर्दा भारत सरकारले यस्तो निर्णय गरेको हो ।
भारतमा हरियाणा बासमती चामलको प्रमुख उत्पादक राज्यहरू मध्ये एक हो भने महाराष्ट्र देशको अग्रणी प्याज उत्पादन गर्ने राज्य हो।
भारतले प्याज र बासमती चामलको निर्यात शुल्क २० प्रतिशत कायम गर्ने निर्णय गरेको हो । भारतीय गृह मन्त्री अमित शाहले केन्द्र सरकारले किसानलाई उनको उत्पादनको उचित मूल्य दिलाउनका लागि निर्यातलाई बढाउने निर्णय गरेको बताए।
उनले आफ्नो सामाजिक सञ्जाल एक्समा किसान हितलाई ध्यानमा राखी ३ महत्त्वपूर्ण निर्णय गरिएको बताए। जसमा सरकारले प्याजमाथि न्यूनतम निर्यात मूल्य हटाउने र निर्यात शुल्कलाई ४० प्रतिशतबाट २० प्रतिशत कायम गर्ने निर्णय गरिएको छ। यसले प्याजको निर्यात बढ्ने र प्याज उत्पादक किसानको आम्दानी पनि वृद्धि हुने सरकारले बताएको छ।