मिडियाबाजी डटकम काठमाडौँ , भाद्र २० । बिहीबार नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । नेप्से १२.१० अंकले घटेर २७२७.३६ विन्दुमा बन्द भएको छ ।
यसदिन कारोबार रकममा पनि कमी आएको छ । बुधबार १२ अर्ब ९२ करोड रूपैयाँको कारोबार भएकोमा यसदिन ९ अर्ब ६५ करोडको कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकममा तीन अर्ब २७ करोड रूपैयाँ कमी आएको हो ।
यसदिन ३१६ वटा धितोपत्रको दुई करोड एक लाख ५३ हजार ९९३ कित्ता सेयर किनबेच भएको हो । बिहीबार १०१ कम्पनीको सेयर मूल्य बढेको छ भने १३८ वटाको घटेको छ। यस्तै, पाँच कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । यसदिन आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य पाँच हजार १७० रूपैयाँ कायम भएको छ ।
यसैगरी, युनिक नेपाल लघुवित्तको मूल्य ९.१४ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य दुई हजार ७८३ रूपैयाँ पुगेको छ । यस्तै, नेपाल फाइनान्सको मूल्य सर्वाधिक ८.९१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा झरेको छ । विन्ध्यवासिनी हाइड्रोपावरको मूल्य ५.७७ प्रतिशतले घटेको छ।
उक्त कम्पनीको मूल्य ६४० रूपैयाँ कायम भएको छ । बिहीबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ५०३ रूपैयाँमा ४० करोड ५० लाखको सेयर कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा एनएलजी इन्स्योरेन्स रहेको छ । उक्त कम्पनीको प्रतिकित्ता एक हजार ३२५ रूपैयाँमा ३४ करोड २२ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये माइक्रोफाइनान्स र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ । यसदिन लघुवित्त समूहको परिसूचक सर्वाधिक १.६८ प्रतिशतले बढेको छ भने लगानी समूहको परिसूचक सर्वाधिक १.३६ प्रतिशतले घटेको छ ।