मिडियाबाजी डटकम काठमाडौँ , भाद्र १३ । जोमसोम-पोखरा हवाई सेवा दुई महिनापछि पुनः सञ्चालनमा आएको छ । गण्डकी प्रदेशको राजधानी पोखरादेखि पर्यटकीय जिल्ला मुस्ताङको जोमसोम विमानस्थलमा हुुने हवाई यातायात सेवा प्रतिकूल मौसमका कारण १७ असारदेखि स्थगित भएको थियो ।
जोमसोम विमानस्थलका प्रमुख केशव लम्सालले दुई महिनापछि समिट एयरलायन्सले बिहीबार पाँचवटा उडान भरेको जानकारी दिए । ‘मौसममा सुुधार आएको छ । पर्यटकीय याम सुरु हुन लागेकाले पनि पोखरा-जोमसोम हवाई सेवा पुनः सुरु गरिएको हो,’ उनले भने, ‘निजी क्षेत्रको यति एयरलाइन्सको भगिनी कम्पनी तारा एयरको जहाजले १८ भदौदेखि उडान भर्ने तयारी गरेको छ ।’
पाँच उडानमार्फत ९० जना मुस्ताङ भित्रिएका प्रमुख लम्सालले बताए । बेनी-जोमसोम सडकको म्याग्दी खण्डमा पहिरोका कारण यातायात सेवा प्रभावित भइरहेको अवस्थामा हवाई सेवा पुनः सुरु भएपछि मुस्ताङका बासिन्दा, तीर्थयात्री र पर्यटकलाई सहज भएको छ । सडक अवरुद्ध हुने र हवाई सेवा नभएको अवस्थामा महँगो शुल्क तिरेर हेलिकोप्टरमार्फत यात्रा गर्नुपर्ने बाध्यता छ ।