सरकारी अस्पतालको उपकरण मर्मत आविष्कार केन्द्रले गर्ने

  भदौ ०५, २०८१

 मिडियाबाजी डटकम काठमाडौँ , भाद्र ५ ।   स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच संघीय सरकार मातहतका १७ अस्पतालमा रहेका उपकरणको मर्मत सम्भार र व्यवस्थापन गर्नेलगायतका विषयमा सहकार्य गर्ने सम्झौता भएको छ ।

स्वास्थ्यमन्त्री प्रदीप पौडेलको उपस्थितिमा मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्रालयका गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदन उपाध्याय र आविष्कार केन्द्रकातर्फबाट अध्यक्ष डा महाविर पुनबीच त्यससम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

स्वास्थ्यमन्त्री पौडेलले राज्यमा उपलब्ध सिमित स्रोत साधनकाबीच स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गर्न उपकरणलाई चुस्त र व्यवस्थित तुल्याउनुपर्ने भएकाले केन्द्रसँग सहकार्य गर्न लागिएको बताए।

मन्त्री पौडेलले भने, ‘हामीले साधन स्रोत बढाएर तत्काल आवश्यकता अनुसारका उपकरण खरिद गर्नसक्ने अवस्था छैन, त्यसकारण अहिले हामीसँग भएका उपकरणलाई बढीभन्दा बढी प्रयोगमा ल्याउने सन्दर्भमा गरिएको सम्झौता महत्वपूर्ण प्रयास रहेको छ।’

अस्पतालमा प्रयोग हुन नसकेर थन्किएका उपकरणलाई प्रयोगमा ल्याउन सकिएमा नयाँ खरिद गर्न लाग्ने ठूलो खर्च जोगिने उल्लेख गर्दै मन्त्री पौडेलले थोरै खर्चमा त्यस्ता सामग्री मर्मत र व्यवस्थापन गर्ने कामको थालनी भएको बताए।

तपाईंको प्रतिक्रिया

थप खबर