मिडियाबाजी डटकम काठमाडौँ, साउन ४ । एसीसी महिला टी–२० एसिया कप क्रिकेट प्रतियोगिता शुक्रबारदेखि श्रीलङ्काको डम्बुलामा सुरु हुँदै छ । महिला एसिया कपको यो नवौँ संस्करण हो । प्रतियोगितामा नेपालसहित आठवटा राष्ट्रको सहभागिता रहेको छ ।
जुलाई १९ देखि २८ साउन ४ देखि १३ गते सम्म सञ्चालन हुने उक्त प्रतियोगितामा सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । नेपाल प्रतियोगिताको समूह ‘ए’मा परेको छ । दुई बलिया टेस्ट राष्ट्र भारत र पाकिस्तान पनि सोही समूहमा छन् । चौथो टोलीको रूपमा युएई छ ।
प्रतियोगिताको समूह ‘बी’ मा भने श्रीलङ्का, बङ्गलादेश, मलेसिया र थाइल्यान्ड रहेका छन् । प्रारम्भिक चरणको खेलपछि दुवै समूहबाट दुई–दुई टोली प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेलमा विजयी हुने दुई टोलीबिच साउन १३ गते फाइनल हुनेछ ।