- द्रौपदी अर्याल
मिडियाबाजी डटकम काठमाडौँ, आषाढ १५।प्राचीन ऋषिले मानव कल्याणका लागि निर्माण गरेका क्रियामा योगसाधना प्रमुख स्थानमा रहेको छ । ऋषिहरूले योग साधनासँग मानव जीवनको अटुट सम्बन्ध देखेर योगलाई मनुष्य जीवनमा अपनाउने प्रेरणा दिएका छन् । योगका साधना केवल शास्त्रहहरूमा मात्र सीमित छैन । यी साधना मानव जीवननका अभिन्न अङ्ग बनेका छन् । योगका विषयमा वेद,ब्रह्माण,आरण्यक, उपनिषद, दर्शन,पुराण आदि ग्रन्थमा योगको विस्तार छ । वेदमा कर्म, उपासना अर्थात् ज्ञानका नामबाट योगको वर्णन गरिएको छ ।
पातञ्जल योगदर्शनमा योग साधनालाई बढी महत्त्व दिइएको छ । साङ्ख्य दर्शनमा साङ्ख्य योग पूर्वमीमांसामा कर्मयोग तथा उत्तरमीमांसामा ब्रह्मयोगको चर्चा छ । श्रीमद्भगवत गीतामा भक्ति, कर्म र ज्ञान योग मुख्य रहेको छ । योगलाई मानवका लौकिक तथा पारलौकिक कल्याण तथा मुक्तिको मार्ग भनिएको छ । शास्त्रमा योगका विभन्न साधना पक्ष उल्लेख गरिएका छन् । यी मार्गलाई विधि, उद्देश्य र कार्यका आधारमा छुटइएको छ ।
योग अभ्यासद्वारा चित्तको एकाग्रता प्राप्त हुने अवस्था नै योगको साधना पक्ष हो । चित्तलाई एकाग्र बनाउने विभिन्न मार्ग तथा उपाय रहेका छन् । यी उपायलाई योगका साधना पक्ष भनिन्छ । योगलाई विभिन्न ग्रन्थहरूमा विविध तरिकाबाट विवेचना तथा परिभाषा गरिएको छ । योगका विषयमा वेद, गीता,उपनिषद, पातञ्जल योगदर्शन तथा अन्य वैदिक साहित्यमा पनि चर्चा गरिएको छ । यस क्रममा योगको परिभाषा तथा योगका अङ्गका विषयमा पनि व्याख्या गरिएको पाइन्छ । योगलाई लक्ष्यप्राप्तिको साधना भनिन्छ । यो साधना मानवको शारीरिक र मानसिक सामथ्र्य, अभिरुचि, स्वभाव अनुसार योग साधनामा पनि अनेक विधि, तरिका रहेका छन् । शास्त्रमा यी मार्गलाई अनेक योगको संज्ञा दिइएको छ । दत्तात्रयको योगशास्त्र, योगराज उपनिषद र शिवसंहितामा मन्त्रयोग, लययोग, हठयोग र राजयोगका आधारमा योगलाई चार प्रकारमा विभाजन गरिएको छ । योगका अनेक भेद,शाखा र प्रशाखाहरू छन् । ज्ञानयोग, भक्तियोग, कर्मयोग, अष्टाङ्गयोग, कुण्डलिनी योग, तन्त्रयोग,आदि पक्ष नै योगका साधना पक्ष हुन् ।
योगका विषयमा वेद तथा वैदिक साहित्यमा योगका विषयमा प्रारमिभक चर्चा पाइन्छ । यी साहित्मा आसन, प्राणायामका तुलनामा मोक्ष, ब्रह्मज्ञान, मन्त्रज्ञान आदिको चर्चा पाइन्छ । विभिन्न उपनिषद्मा अष्टाङ्ग योग, षाङ्ग योग, पञ्चदशाङ्ग योगका विषयमा चर्चा गरिएको छ । गोरक्ष संहिता, घेरण्यसंहिता, हठयोग प्रदीपिका, योगदर्शन, गीता आदिमा योगको साधना पक्षलाई प्राथमिका दिइएको छ । यी पक्षलाई सप्तसाधना, षटकर्म, अष्टाङ३गयोग, षडाङ३गयोग आदिको संज्ञाबाट हेरिएको छ । यी शास्त्रहरुको आधारमा हेर्दा योगका साधना पक्ष विभिन्न रहेका र यी साधना पक्षमा केही साधना बढी प्रचलनमा आएका र केही साधना पक्ष गौण रहेको देखिन्छ । योगका अङ्गका बारेमा सबै ग्रन्थमा प्रकरणगत भिन्नता रहेको देखिन्छ । दत्तात्रय योगशास्त्र, योगराज उपनिषद र शिवसंहितामा चार प्रकारका योगका विषयमा उल्लेख गरिएको पाइन्छ ।
(क) मन्त्रयोग :
मन्त्रको प्रोगबाट चित्तलाई एकाग्र गराउने साधना नै मन्त्रयोग हो । यसमा उत्तम मन्त्रको साधनाबाट साधकले निर्वाध मोक्ष प्राप्त गर्छ (शि.सं २२५) । मन्त्रयोग मृदुसाधकका लागि उत्तम मानिएको छ । शिवसंहिता अनुसार अरूलाई आकर्षण गर्न यक्ष, राक्षस, नागलाई वशमा ल्याउन, सिद्ध, गन्धर्व, योगी, अप्सरालाई वशमा ल्याउन, ब्रह्मा, विष्णु समान हुन अमरत्व प्राप्त गर्न र महायोगी हुनका लागि मन्त्रयोगको साधना उल्लेख छ ।
(ख) हठयोग :
सूर्य र चन्द्र नाडीको संयोग हुँदा सुषुम्ना नाडी जागृत भई योगको अवस्था प्राप्त गराउने विधिलाई हठयोग भनिन्छ । यसमा साधकले गुरुको निर्देशन अनुसार प्रवृत्त हुनपर्छ भनिएको छ (.शि सं २१५) । हठयोग अधिमात्र साधकका लागि उपयुक्त मानिएको छ । यसरी नै गोरक्ष संहिता अनुसार आसन,प्राणायाम, प्रत्याहार, धारणा, ध्यान, समाधि,आदिलाई यसका अङ्ग मानिएको छ । घेरण्य संहितामा षटकर्म, आसन, मुद्रा, प्रत्याहार, प्राणायाम, ध्यान, समाधि उल्लेख गरिएको छ ।
(ग) लययोग :
लयको अर्थ लीन हुनु हो । परमात्मामा आफूलाई लीन गराउनु या लयवद्ध गराउनु नै लययोग हो । यसका लागि विभिनन मुद्रा, बन्ध, धारणा र ध्यानको अभ्यासबाट आफूलाई परमतत्त्वसित विलय गराउन सकिनछ । शिवसंहिताका अनुसार लययोग मध् साधकका लागि उपयुक्त मानिन्छ ।
(घ) राजयोग :
राजयोग सर्वोत्कृष्ट योग हो । निरनतर ध्यानले साधकलाई संसारको विस्मरण गराउँछ र उसलाई विभिनन शक्ति प्राप्त हुन्छ । शिवसंहिता अनुसार राजयोग तन्त्रमा गोप्य छ । राजयोग सिद्ध भएपछि विचित्रका शक्ति पैदा हुन्छन् । शिवसंहिताका अनुसार राजयोग अधिमामात्रा साधकका लागि उपयुक्त हुन्छ । अष्टाङ्ग योग पतञ्जिलीद्वारा उल्लेख गरिएएको योगविधिमा अष्टाङ्ग योगलाई बढी मान्यता दिएको पाइन्छ । यसमा आन्तरिक र बाह्य गरी दुई प्रकारका शाखा बताइएको छ । यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार बहिरङ्ग योग हुन भने धारणा, ध्यान, समाधि अन्तःरङ्ग योग हुन् । बहिरङ्ग योगसाधनाबाट शरीर सम्बन्धी शोधन हुन्छ भने अन्तःरङ्गले चित्तको शोधन सम्बन्धी कार्य गर्छ ।
गीतामा योगका साधना पक्ष गीतामा योग शब्दको विविध अर्थमा प्रयोग गरिएको छ । गीतामा उल्लेख गरिएका योगमा (क) ज्ञानयोग (ख) भक्तियोग र (ग) कर्मयोग मुख्य रहेका छन् । यसका साथै गीतामा ध्यान योगको पनि चर्चा छ । ज्ञानयोग सम्पूर्ण जीवलाई मोक्ष प्राप्त गराउने साधना हो भने कर्मयोगमा नियत कर्म र शास्त्रगत कर्मको साधना पक्षको चर्चा छ । सगुण रूपमा नित्य साधनाको पक्ष भक्ति योग हो । ज्ञानयोग, कर्मयोग र भक्तियोग सिद्ध गर्नको लागि ध्यान योगको आवश्ययकता पर्ने चर्चा पाइन्छ गीता ,अध्याय ६ । यसरी गीतामा ज्ञानयोग, भक्तिोग र कर्मोगको साधना पक्षमा जोड दिएको छ । यस साधनाबाट व्यक्तिका मानसिक, शारीरिक, सामाजिक, भावनात्मक, आध्यात्मिक आदि पक्ष सबल हुने उल्लेख गरिएको छ ।
निष्कर्ष योगको साधना पक्षलाई शास्त्र, विधि, तरिका अनसार हेर्दा योग साधनाका धेरै भेद देखिन्छन् । शास्त्र अनुसार साधना पक्षमा केही समानता र केही भिन्नता रहेका छन् । हठयोग र अष्टाङ्ग योगका अङ्गहरूमा धेरै समानता पाउन सकिन्छ। हठयोगमा षट्कर्मको उल्लेख छ भने अष्टाङ्ग योगमा यम, नियम अङ्गको भिन्नता रहेको छ । प्रकारगत रूपमा योगका साधना पक्षमा हठयोग र राजयोग सबैमा उल्लेख गरिएको छ । अष्टाङ्गयोगका साधना पक्षमा पनि एकरूपता पाइँदैन । यसमा पनि अन्तःरङ्ग साधना पक्ष सबै शास्त्रमा समान देखिन्छ र बहिरङ्ग साधना पक्षमा प्रकारगत भिन्नता रहेको पाइन्छ ।
सन्दर्भसामग्री सूची :
कर्नाटक,विमला(२०६४) योेगविद्याविमर्श वाराणसी सम्पूर्णानन्द संस्कृतविश्वविद्यालय ।चतुर्वेदी, खेमचन्द्र (२००७ ई.) योगसाधना आधुनिक परिप्रेक्ष्य में वाराणसी : विश्वविद्यालयय प्रकाशन । पन्थी, लक्ष्मीकान्त (२०६७) हठयोगप्रदीपिका काठमाडौँ : रत्नपुस्तक भण्डार । पुरुषार्थी,योगेन्द्र (सन् १९८३) वेदें में योगविद्या हरिद्वार : यौगिक शोधसंस्थान । श्रीकृष्णदास,खेमराज (२०७४) हठयोगप्रदीपिका खेमराज बम्बई श्रीकृष्णदास । (२०७५) कल्याण योगाङ्क (दसवें वर्षका विशेषाङ्क) ।