मनसुन थप सक्रिय : आइतबारसम्म धेरै ठाउँमा भारी वर्षा हुने, सतर्कता अपनाउन आग्रह

  असार १५, २०८१

मिडियाबाजी डटकम काठमाडौँ, असार १४ । नेपालमा मनसुन थप सक्रिय भएको छ । काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि पानी परिरहेको छ । लगातार र ठूलो पानी परेका ठाउँका नदी खोलामा बाढी आएको छ । चितवनको कल्याणपुर र चर्चरे, काठमाडौंको गोंगबु र कपन तथा सिन्धुपाल्चोकको गोब्रे र मानेखर्कमा ठूलो पानी परेकाले त्यस आसपासका नदी खोला किनारमा बस्नेलाई सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

पर्सी आइतवारसम्म देशका धेरै ठाउँमा भारी वर्षा हुने भएकाले पूर्व तयारी र आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् । केही दिन मनसुनको न्यूनचापीय रेखा पूर्णरूपमा विकसित भई सरदर स्थानभन्दा उत्तरतर्फ अर्थात नेपाल नजिक अवस्थित रहने देखिएकाले आगामी केही दिन नेपालमा मनसुन थप सक्रिय हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

अहिले कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । साथै मधेश प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि भइरहेको विभागले जनाएको छ । आज ९शुक्रबार० दिउँसो पनि कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको साथै कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

तपाईंको प्रतिक्रिया

थप खबर