मिडियाबाजी डटकम काठमाडौँ, असार १ । बाराको कलैयास्थित राजाराम बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहको गोली हानी हत्या गरिएको प्रकरणमा प्रहरीले ६ जना शंकास्पद व्यक्तिलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेको संलग्नता यकिन गर्ने काम भइरहेको प्रहरी भनाइ छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रमुख महेन्द्र खड्काले प्रारम्भिक अनुसन्धानका क्रममा शंकास्पद ६ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जानकारी दिए । शुक्रबार साँझ ५ बजेतिर कुशवाहमाथि जिल्ला सदरमुकाम कलैयाभन्दा २० किलोमिटर टाढा आदर्श कोतवाल गाउँपालिका ३ बतरामा गोली प्रहार गरिएको थियो ।
मोटरसाइकलमा आएको तीन जनाको समूहले गोली प्रहार गरेको थियो । गोली प्रहारबाट गम्भीर घाइते कुशवाहलाई उपचारका लागि वीरगञ्जस्थित बयोधा अस्पतालमा लगिएको थियो । उपचारका क्रममा उनको मृत्यु भएको थियो । कुशवाहलाई गोली प्रहार गरी गरिएको हत्याको घटनाको विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको खड्काले बताए ।