मिडियाबाजी डटकम काठमाडौँ ,वैशाख ०४। वर्तमान नेपाल सरकारका गृहमन्त्री रवि लामिछाने प्रहरीको फरार अभियुक्तहरूको सूचीमा भेटिएका छन्।
बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीबाट उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाममा ऋण स्वीकृत गराई ठगी गरी फरार हुनेहरू मध्येमा लामिछाने पनि एक हुन् ।प्रहरीले गरेको अनुसन्धानबाट लामिछानेको नाममा २ करोड रुपैयाँ ऋण स्वीकृत भएको रुपन्देही जिल्ला अदालतमा पेस गरेको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
अभियोगपत्रमा लेखिएको छ, ‘उक्त रकम श्री रवि लामिछानेको नाम ऋण खडा गरि मिति २०७७/१२/१/१पाते श्री गोर्खा मिडिया नेटवर्क प्रा. लि.को ग्लोबल आई.एम.ई बैंक लि. को खातामा सेवा शुल्क बापत रू. ४००००० कट्टी गरि संस्थाले रू. १९६००००० जम्मा गरेको देखिन्छ ।’सहकारीमा भएको घोटालामा संलग्न ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर सरकारी वकिल कार्यालयले अदालतमा अभियोगपत्र दायर गरेकोमा पाँच जनामात्रै पक्राउ परेका छन् ।
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्वउपराष्ट्रपतिका छोरा एवं पूर्वकोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने र निता थापा मागर पक्राउ परेका छन् । पक्राउ परेका ५ जना बाहेक सरकारी विकलद्वारा अरूलाई अभियोगपत्रमा फरार प्रतिवादी कायम गरिएको छ ।