मिडियाबाजी डटकम काठमाडौँ, चैत ८ । पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरी मानव बेचबिखन तथा ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी कावासेती नगरपालिका-८ ठेगाना भई कास्की पोखरा महानगरपालिका-६ बस्ने ३६ वर्षीय दुर्गा बहादुर पौडेल क्षेत्री रहेका छन् ।
मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई भक्तपुर, भक्तपुर नगरपालिका-१७ दुधपाटीबाट मंगलबार पक्राउ गरेको हो । क्षेत्रीले आफू अविवाहित रहेको भनी पीडितको बहिनीको उपचारमा सहयोग गर्ने प्रलोभन देखाई बिहे गरेका थिए ।
त्यसपछि मिर्गौलाको उपचार गर्ने डाक्टर चिनेको भन्दै बुटवल लगी आफ्नै साथीलाई देखाई झुक्याएका थिए । साथै क्षेत्रीले उपचारको लागि ७० लाखभन्दा बढी पैसा जम्मा गरेको भनी झुटो कुरा बताई उपचारको लागि थप पैसा झिकाउन लगाई पीडितबाट ६ लाख रुपैयाँ समेत ठगी गरेका थिए ।