मिडियाबाजी डटकम काठमाडौं, जेठ ५ । वसन्त ऋतुमा आरोहणका क्रममा अहिलेसम्म ३ सय ३० जना ले सगरमाथा आरोहण गरेका छन् ।
विभागका निर्देशक युवराज खतिवडाका अनुसार बिहीबार अबेरसम्म ३३० जनाभन्दा बढीले आरोहण पूरा गरेका छन् । शुक्रबार बिहान पनि केही आरोही सगरमाथाको चुचुरोमा पुगेका छन् तर त्यसको विवरण प्राप्त भएको छैन ।
गत शनिबारबाट सुरु भएको यस वर्षको सगरमाथा आरोहणका लागि ६५ देशका ४७८ आरोहीले अनुमति लिएका थिए ।
पर्यटन विभागका अनुसार आरोहणको बाटो खुलेसँगै विभिन्न एजेन्सीमार्फत आरोहीले सगरमाथा आरोहण जारी राखेका छन् । बिहीबार सगरमाथा क्षेत्रको मौसम प्रतिकूल बनेपछि २५ जना आरोहीले विभिन्न शिविरबाट उद्धार गरेर आधार शिविर ल्याइएको छ
निर्देशक खतिवडाका अनुसार यस सिजनमा सगरमाथा आरोहणका क्रममा सात जना आरोहीले ज्यान गुमाएका छन् । विभागका अनुसार यस सिजनमा सगरमाथासहित २८ हिमाल आरोहणका लागि ८० देशका एक हजार १७६ जनाले अनुमति लिएका छन् । सरकारले यस पटक आरोहण अनुमतिबाट ७६ करोड ५७ लाख रुपियाँ सलामी दस्तुरबापत राजस्व सङ्कलन गरेको छ ।