शहीद स्मारक कलेजमा अनुसन्धानमूलक लेखन कार्यशाला सम्पन्न

  बैशाख ३१, २०८०

द्रौपदी अर्याल

मिडियाबाजी डटकम काठमाडौं, बैशाख ३१ । शहीद स्मारक कलेजमा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले ३ दिने अनुसन्धानमूलक लेखन सम्बन्धी कार्यशाला सम्पन्न भएको छ । कार्यशालामा शहीद स्मारक लगायत मङ्गल बहुमुखी क्याम्पस, जनाधार कलेज तथा क्यापिटल हिल क्याम्पसको सहभागिता थियो ।

अनुसन्धान सम्बन्धी कार्यशाला वैशाख २२ गते २३ गते र ३० गते तीन दिन चल्यो । कार्यशालामा मानविकी र व्यवस्थापन सङ्कायका गरी २५ जना शिक्ष्क सहभागी भए । कार्यक्रमको संयोजन भने शहीद स्मारक कलेजले गरेको थियो ।

कार्यक्रममा पहिलो दिन उदघाटन सत्रको आयोजना गरिएको थियो । उदघाटन सत्रमा प्रमुख अतिथि त्रि. वि. व्यवस्थापन सङ्कायका प्राध्यापक भवानी शङ्कर आचार्यले हरेक १८ महिनामा ज्ञानको दायरा फरक पर्दै जान्छ । पहिले गरेका अनुसन्धानको परिणाम वर्तमानमा लागु नहुन सक्छ,त्यसैले यस्ता अनुसन्धान समय सापेक्ष हुनुपर्छ भन्दै कार्यशाला परिणाममुखी होस् शुभकामना व्यक्त गरे ।
पहिलो दिनको सत्रमा डा. भीम गौतम, डा. मधु गिरी र डा. प्रेम पौडेल लगायतका विज्ञले कक्षा लिएका थिए । साथै दोस्रो दिनमा पनि बिहान ११ बजेदेखि आरम्भ भएको सत्रमा अनुसन्धानका विभिन्न शीर्षक सम्बन्धी जानकारी तथा सहभागीहरूले अनुसन्धान सम्बन्धी नमुना तयार पारी त्यसमा छलफल भयो ।

अन्तमा अनुसन्धान सम्बन्धी डा. श्रीकुमार श्रेष्ठ,डा.प्रेम पौडेलले र प्रा. डा. जीवलाल सापकोटाले अनुसन्धान सम्बन्धी खाका, अनुसन्धानको भाषा तथा सम्पादनका बारेमा कार्यशालामा प्रस्तुति गर्दै कार्यशालामा सहभागीका बिच अभ्यास तथा छलफल सम्पन्न भयो । यस कार्यशालाको अन्तिम सत्र समापन सत्र रहयो ।
समापन सत्रमा मानविकी तथा सामाजिक शास्त्रका सहायक डीन डा. गोविन्दप्रसाद शर्माले अबको शिक्षा अनुसन्धानमुखी हुनुपर्ने भन्दै विद्यार्थी नैै अनुसन्धानका स्रोत हुन् यिनीहरूको माझबाट अनुसन्धान गर्नुपर्छ भन्ने मन्तव्य व्यक्त गरे । साथै क्याम्पस प्रमुख मिलनमान महर्जनले सार्वजनिक विदाका दिनहरूलाई पनि अनुसन्धानमा लगाउन सके अझै राम्रो हुने सन्देश दिए । यसै क्रममा व्यवस्थापन समितिका अध्यक्ष शम्भु महर्जनले अनुसन्धानमूलक लेखन सबैलाई अपरिहार्य भएको कुरा बताएका थिए ।

कार्यक्रममा सहभागी रुवी महर्जनले कार्यशाला धेरै नै अर्थपूर्ण र जानकारीमूलक रहेको प्रतिक्रिया दिँदै अझै अवधि बढाउन पाएको भए राम्रो हुने भन्ने प्रतिक्रिया दिइन् । कार्यक्रमका संयोजक नरसागर श्रेष्ठले कार्यक्रमको प्रतिक्रिया लिँदै अबका दिनमा पनि यस खालका कार्यक्रमद्वारा शिक्षकहरूको क्षमता अभिवृद्धि गर्न सकिने कुरा व्यक्त गरे ।

तपाईंको प्रतिक्रिया

थप खबर