मिडियाबाजी डटकम काठमाडौं,चैत १७। दशरथ रंगशालामा शुक्रबार साँझ भएकाे प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको उपाधि नेपाले जितेको छ ।
खेलको ८७ औँ मिनेटमा मनिष डाँगीले १ गोल थप्दै नेपाललाई २-१ को जित दिलाएका हुन् । फाइनल खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल र लाओस १-१ गोलको बराबरीमा रहेका थिए । खेलको १७ औँ मिनेटमा लाओसका फोउचाङभोङले गोल गरि लाओसलाई १ गोलको अग्रता दिलाए थिए । तर त्यसको ७ मिनेटपछि अर्थात् खेलको २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याए थिए ।
प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगितामा नेपाल र लाओससहित भुटानको सहभागिता थियो । लिग चरणमा अपराजित रही शीर्ष स्थानमा रहेको नेपाल र लिग चरणमा दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको लाओसबीच उपाधिका लागि प्रतिस्पर्धा भएकाे थियो ।
घरेलु मैदानमा समर्थकको साथ पाएको नेपालले तल्लो वरियताको लाओसलाई हराएर उपाधि उचालेको हो ।प्रतियोगितामा विजेता बन्दै नेपालले ५ हजार अमेरिकी डलर हात पारेको छ । यसैगरी उपविजेता लाओसले ३ हजार डलर पाएको छ ।