मिडियाबाजी डटकम काठमाडौं, फागुन ६ । महाशिवरात्रिका लागि पशुपतिनाथ क्षेत्रमा हुने भिडलाई मध्यनजर गर्दै पशुपति क्षेत्रमा सवारी साधनको रुट र पार्किङस्थल निर्धारण गरिएको छ । आज पशुपतिनाथ मन्दिरमा दर्शनार्थीहरुको भिड बढ्दै जाँदा आवश्यकता अनुसार सवारी साधन डाइर्ट गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारीलाई चाबहिल, पुरानो बानेश्वर, ज्ञानेश्वर, मैतीदेवी मोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगङ्गाबाटै डाइभर्सन गरिएको छ । यसैगरी मालवाहक गाडीलाई तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामङ्ल पुल र बसुन्धाराबाटै डाइर्ट गरिएको छ भने बस तथा माइक्रोबस, टेम्पो र मालवाहक गाडीका लागि फरक–फरक रुट निर्धारण गरिएको छ ।
रत्नपार्क, भद्रकाली, सिंहदरबार, माइतीघर, नयाँ बानेश्वर, तीनकुने, सिनामङ्ल हुँदै तिलगङ्गासम्म पुग्ने र त्यही मार्ग हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ भने रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चाबहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र त्यही मार्ग हुँदै जमलसम्म तत्पश्चात महेन्द्र सालिक तीनधारा पाठशाला हुँदै रत्नपार्क फिर्ता हुने गरी व्यवस्था मिलाइएको छ ।
कालोपुल हुँदै कपन चल्ने गाडीहरु खानीविभाग, लाजिम्पाट हुँदै महाराजगञ्जको बाटो चलाउने गरी रुट तोकिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका एसएसपी राजेन्द्र भट्टले जानकारी दिनुभयो । उहाँका अनुसार सुन्धाराबाट मैतीदेवी, पुरानोबानेश्वर, चाबहिल हुँदै बौद्धतर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्र सालिक, कृष्णपाउरोटी, जयनेपाल, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चाबहिल गणेशस्थान, चाबहिल हुँदै जोरपाटी मार्ग हुँदै चल्ने भएका छन् ।