मिडियाबाजी डटकम काठमाडौं, माघ १८ । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक यातायात क्षेत्रको सुधारका नीतिगत र व्यावहारिक काम सुरु भएको बताएका छन् । सार्वजनिक यातायात क्षेत्रका मजदुरहरूले उक्त क्षेत्रमा समस्या समाधानका लागि मङ्गलबार पेस गरेको ज्ञापनपत्र ग्रहण गर्दै उनले मागहरूबारे आफ्नो ध्यानाकर्षण भएको र आफू मजदुरकै प्रतिनिधि भएकाले समाधान गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री श्रेष्ठको निजी सचिवालयले जनाएअनुसार यातायात जस्तो संवेदनशील सेवा क्षेत्रको प्रभावकारी सुधारका लागि सरकार, व्यवसायी र मजदुरहरूको हातेमालो हुनुपर्ने उनले बताए । ज्ञापनपत्र प्रस्तुत गर्दै मजदुर सङ्घरसङ्गठनका प्रतिनिधिहरूले यातायात सम्बद्ध सरकारी संरचनाहरू ऐनविपरीत चल्नाले सार्वजनिक यातायात अस्तव्यस्त भएको र सडकमा राज्य आतङ्क सिर्जना गरिएको भन्दै समाधानको माग गरेका थिए ।