मिडियाबाजी डटकम काठमाडौं, माघ १५ । काठमाडौं महानगरपालिकाले व्यक्तिगत सम्पत्तिमा डोजर आतंक चलाएको भन्दै माइतीघर मण्डलामा विरोध प्रदर्शन भएको छ । काठमाडौंका विभिन्न ठाउँका वासिन्दाले माइतीघरमा भेला भएर महानगरपालिका विरुद्ध नाराबाजी गरेका छन् । प्रदर्शनकारीहरुले डोजर आतंक बन्द गर, महानगरपालिकाको ज्यादती बन्द गर, निजी सम्पत्त्मिा डोजर चलाउन पाइदैन, सडक विस्तारका नाममा उठिबास लगाउन पाइँदैन जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए ।
प्रदर्शनमा काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका सुमन सायमी पनि सहभागी भएका छन् । उनले निजी सम्पत्तिमा डोजर नचलाउन चेतावनी दिँदै पहिलेका भन्दा अहिले महाशासक भएर आएका आरोप लगाए । उनले भने, ‘पहिलेका शासक भन्दा पनि यिनी महानिरकुंश भएर आएका छन् । पहिला हामीलाई कुनै पनि निजी सम्पत्ति लिनलाई सूचना दिइन्थ्यो, मार्किङ गरिन्थ्यो, हामी न्यायालय जान पाउथ्यौं’ उनले भने, ‘अहिले न सूचना दिएको छ, न मार्किङ गरेको छ । डोजर लिएर आएको छ । आक्रमण गरेको छ, लुट्दै बसेको छ । यो लुटतन्त्र हामी सहदनौं ।’ कामपाले अबैध संरचनाहरु हटाउने क्रम जारी छ । मेयर बालेन शाहले निर्वाचित भएर आएपछि एक प्रायोजनका लागि बनेको नक्सामा बनेका अबैध संरचनाहरु हटाउन थालेका हुन् ।