मिडियाबाजी डटकम काठमाडौं, माघ १५ । नेपालको सरकारी सर्भरमा विदेशी ह्याकरले निरन्तर अट्याक गरेका छन् । शनिबार सिंहदरवारमा रहेको सरकारको केन्द्रीय सर्भरमा निरन्तर अट्याक भएको हो । राष्ट्रिय सूचना केन्द्रका सहनिर्देशक रमेश पोखरेलले सरकारी सर्भरमा अट्याक प्रयास भइरहेको बताए । उनले डेटा चोरी गर्ने उद्देश्यले पटक पटक प्रयास भइरहेको बताए । विदेशी ह्याकरहरूले पटक९पटक अट्याक गरिरहेका छन् । जसका कारण केन्द्रीय सर्भर डाउन भइरहेको छ । हाम्रा प्राविधिक साथीहरूले सर्भर सुरक्षाका लागि निरन्तर खटिरहनुभएको छ, उनले भने ।
ह्याकरले पहिलोपटक शनिबार १२ बजेतिर अट्याक गरेको राष्ट्रिय सूचना केन्द्रका एक अधिकारीले बताए। झन्डै पाँच घन्टापछि रिकभर भएको सर्भर फेरि साढे ७ बजे ह्याकरको अट्याककै कारण बन्द भएको ती अधिकारीको भनाइ छ। सुरुमा हेर्दा सामान्य प्राविधिक समस्या होला भन्न ठानेका थियौं । तर पटक पटक सर्भरमाथि अट्याक प्रयास भइरहेको छ । डेटा सुरक्षाका लागि भए पनि साथीहरू खटिरहुनभएको छ, ती अधिकारीले भने।
सरकारको केन्द्रीय सर्भर डाउन हुँदा अति संवेदनशील क्षेत्रहरूको काम प्रभावित बनेको छ । अध्यागम विभागको सफ्टवेयर नचल्दा विदेशबाट आवत जावत गर्नेहरूको विवरण संकलनमा समेत समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन कार्यालयका प्रमुख बासु घिमिरेले सर्भर डाउन हुँदा म्यानुअलीरूपमा विवरण संकलन गर्नुपरेको बताए। सर्भरमै समस्या हुँदा उडानसमेत प्रभावित बनेको थियो। यो समाचार अन्नपूर्ण पोस्टमा छ ।