मिडियाबाजी डटकम काठमाडौं, माघ ७ । गत आइतबार पोखरामा भएको विमान दुर्घटनाका मृतकमध्ये काठमाडौँ ल्याइएका ४९ वटै शवको पोस्टमार्टम सकिएको छ । पोस्टमार्टम सकिए पनि शवहरुको पहिचान भने हुन सकेको छैन । त्रिवि शिक्षण अस्पताल फरेन्सिक विभाग प्रमुख डा। गोपाल चौधरीले शुक्रबार रातिसम्ममा सबै शवको पोस्टमार्टम सकिएको जानकारी दिए । उनले त्रिवि शिक्षण अस्पतालमा भएको फरेन्सिक विज्ञहरूको टोलीले मात्र पोस्टमार्टम गर्न असम्भव भएपछि पाटन, भरतपुर, भक्तपुरलगायतका अस्पतालबाट फरेन्सिक विज्ञको टोली ल्याएर पोस्टमार्टम सकिएको जानकारी दिए ।
डा चौधरीका अनुसार शुक्रबार थप दुईवटा शवको पहिचान भएको छ। ती दुई शव रसियन नागरिक रहेका छन् । रसियन नागरिकको शव आफन्तले बुझिसकेका छन् । अघिल्लो दिनसम्म २५ जनाको शव पोस्टमार्टम भएको थियो । तीमध्ये १६ शवको पहिचान भएको थियो । १६ शवमध्ये १२ शव आफन्तले बुझेका थिए । “पोस्टमार्टम सकिएको छ,” फरेन्सिक विभाग प्रमुख डा चौधरीले भने, “अब शनिबारबाट शव पहिचानमा लाग्नेछौँ।”आजको गोरखापत्र दैनिकमा समाचार छ ।