मिडियाबाजी डटकम काठमाडौं,पौष ११। हिजो नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन यसरी सहमति जुटेको थियो।
गठनका लागि राष्ट्रपतिसमक्ष दाबी पेश गर्ने समय केही घण्टा मात्र बाँकी थियो । निर्णायक भनिएको वार्तामा प्रधानमन्त्री पद छाड्न कांग्रेस सभापति शेरबहादुर देउवा सहमत नभएपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटारबाट बालकोटतिर हुइँकिए ।माओवादी र एमाले नेताहरुबीच सम्वाद चलिरहेकै थियो । आइतबार विहान मात्र पदाधिकारी बैठकमा प्रचण्डले प्रधानमन्त्री पद छाड्न देउवा तयार नभए एमालेसँग सहमति गर्ने वा प्रतिपक्षमा बस्ने बताइसकेका थिए ।
एमाले नेताहरू, प्रचण्ड कतिबेला बालुवाटार छाडेर बालकोटतिर आउँछन् भनेर पर्खिरहेका थिए । तर कांग्रेस उपसभापति पूर्णबहादुर खड्का भने प्रचण्डले बालुवाटार छाडेको बारेमा पत्रकारहरूलाई भन्दै थिए, ‘प्रचण्ड खाना खान जानुभएको हो, फेरि आउँदै हुनुहुन्छ ।’खड्का जस्तै प्रचण्डसँग निरन्तर सम्वादमा रहेका कांग्रेस केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्की पनि ढुक्क सुनिए । गठबन्धन मुलुकको आवश्यकता भएको भन्दै उनले भने, ‘केही समयपछि फेरि बैठक सुचारु हुन्छ र एउटा निर्णयमा पुग्छौं ।’प्रचण्ड भने वार्ताका लागि होइन, प्रधानमन्त्री बनेर मात्र बालुवाटार जाने तयारीमा जुटिसकेका थिए ।
गठबन्धन तोडिने भएपनि प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले नेतृत्व तयार थियो । कतिसम्म भने प्रचण्डले बालुवाटार छाड्दा नछाड्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारका लागि बहुमत पुर्याउन साना दलहरुसँग सम्वाद थालिसकेका थिए ।सुरुमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पुगे । त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने पुगे । सरकार गठनका लागि आवश्यक गणित बालकोटमा देखेपछि प्रचण्ड पार्टीका नेताहरुलाई लिएर बालकोट पुगे ।जनता समाजवादी पार्टीका नेता अशोक राई र जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत पनि बालकोटमै पुगे ।
संसदको दोस्रो, तेस्रो, चौथो हुँदै स्वतन्त्र सांसदहरु पनि समर्थनमा लामबद्ध भएपछि प्रचण्डलाई प्रधानमन्त्री बनाउने सहमति जुट्यो । साँझ ५ बजे अगावै प्रचण्ड राष्ट्रपति कार्यालय शीतल निवास पुगे र १६९ सांसदको समर्थन आफूलाई रहेको प्रमाणसहित प्रधानमन्त्रीका लागि दाबी पेश गरे । त्यसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले प्रचण्डलाई प्रधानमन्त्रीमा नियुक्त गरिन् ।
आज सोमबार अपराह्न ४ बजे प्रचण्डले प्रधानमन्त्री पदको शपथ लिनेछन् । चुनावका बेला बनेको गठबन्धनको बलमा प्रधानमन्त्री बन्ने तयारीमा रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले पहिलो चरणमा प्रचण्डलाई प्रधानमन्त्री नछाड्दा संसदको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस कम्तीमा २ वर्षका लागि प्रतिपक्षी बनेको छ ।