चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी

  मङि्सर २७, २०७९

मिडियाबाजी डटकम २७ मंसिर, काठमाडौँ । चितवनको चितवन गार्डेन रिसोर्टमा बिहे भोज खाएका ३०० जना बिरामी भएका छन् । बिहे भोज खाएकाहरुलाई पखाला लाग्ने, बान्ता हुने, ज्वरो आउने जस्ता समस्या देखिएको छ । कतिपय बिरामी भरतपुरको नेशनल सिटी अस्पताल भर्ना नै भएका छन् । एउटै भोजमा सहभागी भएर पखाला, वान्ता, ज्वरो आएका बिरामीहरु अस्पतालमा भर्ना भएको अस्पतालका फिजिसियन डा. गौरीराम महतोले जानकारी दिए । उनका अनुसार अहिलेसम्म अस्पतालमा ७० जनाभन्दा बढी बिरामीको उपचार भैसकेको छ ।

अहिले ३५ जना बिरामी अस्पतालमा भर्ना भएको डा. महतोले जानकारी दिए । ‘उनीहरु सबैको अवस्था अहिले स्टेबल छ, सबैको लक्षण उस्तै देखिन्छ, हेर्दा होटलको खानाबाट फुड पोइजन भएको जस्तो देखिन्छ,’ डा. महतोले भने । बिरामी परेकाहरु नवलपुरको गैंडाकोट–१ का गणेश ढकाल र भरतपुर–१० की करिश्मा अधिकारीको मंसिर २३ गतेको विवाह समारोहमा सहभागी भएका थिए ।

बिहे भोज खाएका दुलाहा पक्षका २५० जना जन्ती र केही दुलही पक्षका बिरामी परेका छन् । जन्तीमा सहभागी गैंडाकोटका सविन लम्सालले भोजमा सहभागीमध्ये दुवै तिरका गरेर ३ सय जना बिरामी परेको बताए । दुलाहा र दुलहीलाई पनि पखाला लागेको लम्सालले जानकारी दिए ।

लम्सालले होटलले गुणस्तरहीन खाना खुवाएर बिरामी बनाएको भन्दै होटल सञ्चालकलाई कारबाही गर्नुपर्ने माग आफूहरुको रहेको बताए । होटल सञ्चालकहरु नेशनल सिटी अस्पतालमा मंगलबार बिरामी भेट्न आएको पनि उनले जानकारी दिए । होटलका प्रवन्ध निर्देशक जनार्दन रिजालले विवाह भोजमा सहभागीहरु बिरामी परेको जानकारी पाएको र घटनाबारे बुझिरहेको बताए ।

तपाईंको प्रतिक्रिया

थप खबर