इन्डोनेसियाको संसद्ले विवाह नगरि हुने यौन सम्बन्धलाई अपराधको रूपमा व्याख्या गर्दै नयाँ कानुन पारित गरेको छ । संसद्ले पारित गरेको नयाँ फौजदारी संहिताअनुसार देशमा विवाहित जोडीले गर्ने बाहेकको यौन सम्बन्धलाई अपराध मानिनेछ । तीन वर्षमा लागू हुने नयाँ कानुनअनुसार विवाह नगरि यौनसम्पर्क गर्नेलाई एक वर्षसम्म जेल सजाय हुनेछ ।
केही मुस्लिम बाहुल्य देशहरू प्रेम र यौनको विषयमा उदार बन्दै गए पनि इन्डोनेसियाले भने धार्मिक विषय भन्दै कडाइ गरेको हो । आलोचकहरूले कानूनलाई मानव अधिकारका लागि विपत्ति र पर्यटन तथा लगानीका लागि सम्भावित धक्काको रूपमा व्याख्या गरेको छन् । नयाँ कानुनको विरोधमा राजधानी जकार्ताको संसद् बाहिर युवा समूहले प्रदर्शन गरेका छन् र अदालतमा निवेदन दिने तयारी गरेका छन् ।
यो कानुन इन्डोनेसियाली नागरिक र विदेशी पर्यटकमा समेत लागू हुनेछ । विवाह नगरेका जोडीले एकै ठाउँमा रात बिताउनसमेत पाउने छैनन् । धेरै इन्डोनेसियाली युवा/युवतीले विवाह नगरेका जोडी बाहिर सँगै बस्नु वा यौनसम्पर्क गर्नु अपराध नभएको बताउँदै फौजदारी संहिता कुनै निश्चित धर्ममा आधारित हुन नहुने बताएका छन् ।