३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने कांग्रेसको घोषणा

  कार्तिक १२, २०७९

मिडियाबाजी डटकम नेपाली कांग्रेसले सार्वजनिक गरेको घोषणा पत्रमा अबको पाँच वर्षमा ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने जनाएको छ। शनिबार ललितपुरको सानेपास्थित पार्टी कार्यालयमा नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले घोषणा पत्र सार्वजनिक गरेका छन्।

उक्त घोषणा पत्रमा स्वास्थ्य क्षेत्रमा कांग्रेसले ३ वर्ष मुनिका बालबालिका र ७३ वर्ष माथिका जेष्ठ नागरिकलाई नि:शुल्क उपचारको व्यवस्था गर्ने उल्लेख गरेको छ।पाँच वर्षभित्र सबै नागरिकको स्वास्थ्य बीमा र बीमामार्फत् गम्भीर प्रकृतिका रोगको उपचारको सुनिश्चितता गरिने कांग्रेसले प्रतिबद्धता जनाएको छ। ६५ वर्ष माथिका जेष्ठ नागरिक, अपांगता भएका व्यक्ति, अति विपन्न, अति अशक्त, एकल महिला, महिला तथा स्वास्थ्य स्वयं सेविकालाई नि:शुल्क बीमा गरिने घोषणा पत्रमा उल्लेख छ।

यस्तै, सबै महिलालाई नि:शुल्क गुणस्तरीय स्यानिटरी प्याडको व्यवस्था पनि गरिने जनाएको छ। हरेक स्थानीय तहमा सुविधा सम्पन्न एम्बुलेन्स सेवा व्यवस्था गरी राष्ट्रिय एम्बुलेन्स सञ्जाल बनाउने कांग्रेसको प्रतिबद्धता छ।मदिरा र सुर्तीजन्य पदार्थको उपभोग, बिक्री वितरणलाई नियन्त्रण र नियमन गर्न करको दरमा वृद्धि गरिने घोषणा पत्रमा उल्लेख छ। प्रतिनिधि सभालाई विघटन गर्ने अलोकतान्त्रिक र असंवैधानिक कदम नचाल्ने कांग्रेसले प्रतिज्ञा गरेको छ।

तपाईंको प्रतिक्रिया

थप खबर